०८ असार २०८३, सोमबार
संसदीय चुनावको पूर्व तयारी

संघीय चुनावका लागि उम्मेदवारी घोषणाको लहर, सुरक्षित निर्वाचन क्षेत्र खोज्दै नेता

जेठ २७, २०७९
संघीय चुनावका लागि उम्मेदवारी घोषणाको लहर, सुरक्षित निर्वाचन क्षेत्र खोज्दै नेता

स्थानीय तह निर्वाचन सम्पन्न भएसँगै राजनीतिक दल र नेताहरूको ध्यान प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा केन्द्रित हुन थालेको छ ।

वर्षायाम र ठूला चाडपर्व सकिएलगत्तै हुने प्रदेश र संघीय प्रतिनिधि सभाको चुनावमा उम्मेदवारी घोषणाको लहर नै चलिरहेको छ । 

स्थानीय तह निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारले बाजी मारेपछि संघीय चुनावमा पनि स्वतन्त्र उम्मेदवार घोषणाको लहर देखिएको छ । 

अर्कोतर्फ राजनीतिक दलका नेताहरू पनि स्वतन्त्र उम्मेदवारसँग तर्सिएर सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा देखिएका छन् ।

काठमाडौं महानगरमा बालेन्द्र शाह, धरान उपमहानगरमा हर्क साम्पाङ राई र धनगढी उपमहानगरमा गोपाल हमालले स्वतन्त्र उम्मेदवारको रूपमा जीत हासिल गरेपछि त्यसको दबाब र प्रभाव केन्द्रीय नेताहरूमा परेको छ । 

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमीले संघीय चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका छन् । काठमाडौंमा बालेन्द्र शाहले जितेपछिको धन्यवाद र्‍यालीमासँगै सहभागी भएका सायमीलाई बालेन्द्रका समर्थकले संघीय चुनावमा सहयोग गर्ने आशा उनले राखेका छन् । 

२०७४ सालमा काठमाडौंको मेयरमा उम्मेदवार बनेर पराजित भएकी रञ्जु दर्शनाले पनि काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लड्ने घोषणा गरेकी छन् । 

यो निर्वाचन क्षेत्रबाट २०७४ सालमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेल विजयी भएका थिए । त्यसअघि २०५६ सालमा निर्वाचन प्रचारकै क्रममा तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारीको निधन भएपछि ईश्वर पोखरेललाई सोही क्षेत्रमा उम्मेदवार बनाइएको थियो । त्यसबेला पनि उनले चुनाव जितेका थिए । 

२०६४ र २०७० सालमा भने पोखरेलले चुनाव हारेका थिए । त्यसबेला कांग्रेसका नरहरि आचार्य विजयी भएका थिए ।

२०७४ सालमा कांग्रेसले नेता डा. प्रकाशशरण महतलाई एमालेका नेता ईश्वर पोखरेसँग भिडाएको थियो तर डा. महतले करीब १० हजार मतान्तरले चुनाव हारेका थिए । 

अहिले डा. महत काठमाडौंको क्षेत्र छाडेर आफ्नो गृहजिल्ला नुवाकोट फर्किने मनस्थितिमा रहेका चर्चा कांग्रेसभित्र छ ।

नुवाकोटमा उनका दाजु डा. रामशरण महतले चुनाव लड्दै आएको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने प्रयासमा उनी रहेका कांग्रेस नेताहरू बताउँछन् । 

कांग्रेस नेता डा. रामशरण महतले भने समानुपातिक उम्मेदवार बन्न चाहेको कांग्रेसभित्र चर्चा छ । डा. महत नुवाकोट फर्किएको अवस्थामा कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ५ मा नयाँ उम्मेदवार अघि सार्नुपर्ने हुन्छ ।

त्यसैगरी, जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईले पनि काठमाडौंबाटै उम्मेदवार बन्ने गरी तयारी गरेको जसपा नेताहरूले बताएका छन् । 

तर मानुषी काठमाडौं क्षेत्र नम्बर ७ वा क्षेत्र नम्बर ५ कहाँबाट चुनाव लड्ने भन्ने यकिन नभइसकेको बताइएको छ । 

काठमाडौं क्षेत्र नम्बर ७ मानुषीको मावली क्षेत्र हो । अहिले उनी काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने टोखामा बस्दै आएकी छन् । उनकी आमा हिसिला यमीले २०६४ सालमा काठमाडौं ७ बाट चुनाव जितेकी थिइन् । सोही आधारमा यमीले निर्वाचनका लागि काठमाडौं ७ नै रोज्न सक्ने सम्भावना रहेको जसपाका नेताहरू बताउँछन् । काठमाडौं ७ मा यसअघि एमालेका रामवीर मानन्धर विजयी भएका थिए ।

मानुषी अहिले जसपाको केन्द्रीय सदस्य र बागमती प्रदेश कमिटी सचिव छिन् । उनले क्याम्पसदेखि नै राजनीति शुरू गरेकी थिइन् । २०६५ सालमा मानुषीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सचिव जितेकी थिइन् ।

पूर्व डीआईजी तथा नेपाल सुशासन पार्टीका अध्यक्ष रहेका रमेश खरेलले पनि काठमाडौं क्षेत्र नम्बर ५ बाट संघीय सांसदको उम्मेदवार बन्ने तयारी थालेको बताएका छन् । 

काठमाडौं क्षेत्र नम्बर १ बाट पुकार बमले स्वतन्त्र रूपमा संघीय चुनाव लड्ने घोषणा गरिसकेका छन् । सामाजिक, राजनीतिक अभियन्ता रहेका बम भूकम्प, कोरोना महामारी, संविधान र अकुपाई बालुवाटार जस्ता अभियानबाट चर्चित बनेका थिए । 

उनले भूकम्पका बेला राहत संकलन र वितरण गरेर चर्चा कमाएका थिए । कोरोना महामारीका बेला खाना खुवाउने, अक्सिजन जुटाउने, बिरामीको उद्धार गर्ने लगायतका कामले उनलाई चर्चित बनाएको थियो । उनले यही सामाजिक पुँजीलाई आधार बनाएर चुनाव लड्ने घोषणा गरेका छन् । 

काठमाडौं क्षेत्र नम्बर २ बाट चुनाव जितेका एकीकृत समाजवादी (एस) पार्टी अध्यक्ष माधव नेपाल भने यसपटकको चुनावमा रौतहट फर्कने सोचमा रहेका उनीनिकट नेताहरू बताउँछन् । २०७० सालसम्म उनी रौतहट र काठमाडौंबाट चुनाव लड्दै आएका थिए तर संविधान बनेपछि एउटै उम्मेदवार २ निर्वाचन क्षेत्रबाट चुनाव लड्न नपाउने व्यवस्था गरियो ।

त्यसपछि २०७४ सालको चुनावमा नेपाल रौतहट छाडेर काठमाडौंको क्षेत्र नम्बर २ बाट उम्मेदवार भएका थिए । त्यसबेला नेकपा एमालेबाट सूर्य चिह्नमा उम्मेदवार बनेका नेपालले अहिले पार्टी विभाजित गरेर एकीकृत समाजवादी बनाएका छन् । स्थानीय तहको चुनावमा नेपालका लागि काठमाडौंभन्दा रौतहट अनुकूल देखिएको छ ।

रौतहटमा माधव नेपालकै निर्वाचन क्षेत्रमा पर्ने २ वटा स्थानीय तहमा एकीकृत समाजवादीले एक्लै जीत निकालेको छ । काठमाडौंमा भने नेपालको निवास रहेको वडा नम्बर ३२ मा एमालेले जितेको छ ।

संघीय सरकारको दोस्रो वरियताका मन्त्री गृहमन्त्री बालकृष्ण खाँणले पनि सुरक्षित निर्वाचन क्षेत्रको खोजी गरिरहेका छन् ।

आफ्नै क्षेत्र रूपन्देहीको ३ नम्बर निर्वाचन क्षेत्रमा असुरक्षित महसूस गरेका खाँण २०७४ सालको निर्वाचनमा समानुपातिक उम्मेदवार थिए ।

अहिले रुपन्देहीको ३ नम्बर क्षेत्रभन्दा १ नम्बर बलियो देखेर गृहमन्त्री खाँण प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन नै लड्ने गरी तयारी गरिरहेका छन् । उनले आफ्नो क्रियाशील सदस्यता नै रुपन्देहीको १ नम्बर क्षेत्रमा सारेका छन् तर पार्टीको क्रियाशील सदस्यता वा मतदाता नामावलीले संघीय संसदको उम्मेदवार बन्नमा कुनै अर्थ र प्रभाव भने राख्दैन । यसले मतदातामा सामान्य मनोवैज्ञानिक असर भने पार्छ ।

गृहमन्त्री खाँणले आँखा लगाइरहेको रूपन्देहीको ३ नम्बर क्षेत्रबाट एमालेका नेता घनश्याम भुसाल सांसद निर्वाचन भएका छन् । २०७४ सालको निर्वाचनमा कांग्रेस–राप्रपाका साझा उम्मेदवार दीपक बोहोरा थिए । बोहोरालाई एमालेका केन्द्रीय सदस्य भुसालले पराजित गरेका थिए ।

उता मोरङको ६ नम्बर निर्वाचन क्षेत्रबाट कांग्रेस नेता डा. शेखर कोइराला उम्मेदवार बन्दै आएका छन् । यसपटक भने कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य रहेका रमेशजंग रायमाझीले उक्त क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेका छन् ।

शेखर कोइरालालाई मोरङको २ नम्बर क्षेत्रमा डा. मिनेन्द्र रिजालले ठाउँ छाड्नुपर्ने र आफू ६ नम्बर क्षेत्रबाट चुनाव लड्ने दाबी रायमाझीको छ तर डा. कोइराला आफ्नो निर्वाचन क्षेत्र छाडेर अर्कोमा सर्ने सम्भावना नै नरहेको उनीनिकट नेताहरू बताउँछन् ।

कांग्रेसका युवा नेता गुरुराज घिमिरेले मोरङ–४ बाट संघीय संसदको चुनाव लड्ने घोषणा गरेका छन् । यसअघि कांग्रेसका केन्द्रीय सदस्य रहेका उनी १४ औं महाधिवेशनमा १ नम्बर प्रदेशमा कांग्रेस सभापतिका उम्मेदवार बनेका थिए । पार्टीको निर्वाचन हारेका उनले संघीय संसदको चुनावमा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

कांग्रेसका युवा नेता प्रदीप पौडेलले तनहुँको क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने आकांक्षा राखेका छन् । ‘तनहुँबाट चुनाव लडेर जनप्रतिनिधि बन्न धेरै मेहनत गरेको छु । तनहुँमा नै पार्टीले टिकट दिन्छ भन्ने ठानेको छु तर पार्टीले जहाँ खटाए पनि जानुपर्छ,’ पौडेलले भने । 

salt training

कमेन्ट गर्नुहोस्