२६ जेठ २०८३, मंगलबार

नवल खड्का निर्देशित ‘काँडेतार’को टिजर सार्वजनिक

नवल खड्का निर्देशित ‘काँडेतार’को टिजर सार्वजनिक

राष्ट्रिय भावनामा आधारित चलचित्र बनाउँदै आएका नवल खड्का निर्देशित नयाँ चलचित्र ‘काँडेतार’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार  युट्युबमार्फत चलचित्रको १ मिनेट १२ सेकेन्ड अवधिको टिजर सार्वजनिक गरिएको हो । 

नेपाल–भारतको सीमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषयमा यो चलचित्र निर्माण गरिएको हो । सार्वजनिक टिजरमा राष्ट्रिय भावना बोल्ने संवाद चर्चित सञ्चारकर्मी भूषण दाहालको आवाजमा सुन्न सकिन्छ । 

टिजरलाई बन्दे प्रसादले तयार पारेका हुन् । सार्वजनिक टिजरमा चलचित्रका मुख्य अभिनेता नवल खड्कालाई प्राथमिकता दिइएको छ । 

यो चलचित्रमा नवलका साथमा गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, मुरलीधर, प्रशान्त यादव, प्रेम सुब्बा, सञ्जय खतिवडा लगायतका दर्जन बढी कलाकारहरुको अभिनय छ । 

सामना फिल्मस् प्रालिको प्रस्तुती रहेको चलचित्रको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन् । माकिको राई र अञ्जु केसी निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता सत्यकला राई हुन् ।

कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व रहेको चलचित्रलाई सौरभ लामाले खिचेका हुन् । चलचित्रलाई तारा थापा ‘किम्भे’ले सम्पादन गर्नेछन् । नवलले यसअघि ‘दशगजा’, ‘भीमदत्त’ जस्ता राष्ट्रिय भावनामा आधारित चलचित्र बनाएका थिए । सीमानामा काँडेतार लगाउँदा मुलुकबीचका नागरिक र भूमिको संरक्षण मात्रै नगरी असल छिमेकीसँगको सद्भाव पनि कायम राख्ने ‘काँडेतार’ चलचित्रको कथासार रहेको निर्देशक एवं अभिनेता खड्काले बताए ।

salt training

कमेन्ट गर्नुहोस्