बर्खामा बाढी आएर आवतजावतनै बन्द हुने म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।
म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बेगखोलामा बाढी आउँदा आवतजावत अवरुद्ध हुने र जोखिमपुर्ण यात्रा गर्नुपर्ने समस्या हटाउन झोलुङ्गे पुल बनाइएको हो ।
पूर्वाधार विकास कार्यालयले ठेक्कामार्फत ८० मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको जनाएको छ । कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीले २०७८ कात्तिकमा करसहित २९ लाख ३८ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको हिमशिखर कन्ट्रक्सनले पुल निर्माण सम्पन्न गरेको जानकारी दिए ।
सरकारले उपलब्ध गराएको लठ्ठा र बुल्डअफ ग्रीपबाहेक ३५ लाख ८३ हजार २५८ लागत अनुमान गरिएको थियो । २०७९ असार १५ गतेभित्र सम्पन्न गर्ने सम्झौता भए पनि करिब एक महिनाअघिनै काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि शिव माझीले बताए ।
विक्रम संवत् २०७३ भदौ १७ गतेको बाढीले बेलिब्रिज र झोलुङ्गे पुलसहित बेगखोलामा ११ वटा घर बगाएको थियो । १ जना बेपत्ता भएका थिए । मोटरेबल र झोलङ्गे पुल नहुँदा बर्खायाममा पैदलयात्रु र सवारी साधन जोखिम मोलेर आवतजावत गर्नुपर्ने समस्या थियो ।
सडक विभागको पुल महाशाखाले बेगखोलामा ११ मिटर चौडाइ र ७० मिटर लामो मोटर चल्न पुल निर्माण थालेको छ । पुल निर्माणका लागि विक्रम संवत् २०७८ असार २९ गते बीओकेआइ/हिमालयन जेभीसँग भ्याटसहित ८ करोड ३० लाख ६८ लाख ४७३ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
पुलको डिजाइन निर्माण व्यवसायीले आफैं डिजाइन र निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको हो । विक्रम संवत् २०८० चैत २५ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ । हालसम्म तिप्ल्याङतर्फ र बीचको २ वटा पिल्लर ठडाइसकेको छ ।