०७ असार २०८३, आइतबार

जिसस पाल्पाको निर्वाचन असार ३ गते

जिसस पाल्पाको निर्वाचन असार ३ गते

जिल्ला समन्वय समिति पाल्पाको निर्वाचन आगामी असार ३ गते हुने भएको छ । निर्वाचनमा दुई नगरपालिका र आठ गाउँपालिकाबाट २० मतदाताले भाग लिने छन् ।

गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका यमलाल तिमिल्सिना र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का कृष्ण भुसालले उम्मेदवारी दिने बताइएको छ । नेकपा (एमाले)ले प्रमुखमा टङ्क खनालको नाम अगाडि सारेको छ । उपप्रमुखमा काशिका गैरे र वसन्ता ज्ञवालीको नाम आएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयको कार्यतालिकाअनुसार जिल्लामा जेठ ३१ गते मतदाताको नामवली प्रकाशन गर्ने, नामावली सच्याउने, संशोधित मतदाता नामवली प्रकाशन गर्ने, मतदाताको विरोधमा उजुरी दिने, मतदाताको विरोधमा परेको उजुरीउपर जाँचबुझ गर्ने, अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ । 

असार १ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने, मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्रको जाँच र उजुरीउपर निर्णय गर्ने, उम्मेदवारीको नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनमा सहभागी हुने २० मतदातामध्ये एमालेको तर्फबाट पालिका प्रमुख र उपप्रमुखमा ११ र गठबन्धनबाट प्रमुख–उपप्रमुखमा नौ मतदाता छन् । विसं २०७४ को समन्वय समितिको निर्वाचनमा प्रमुख–उपप्रमुखमा एमाले नै निर्वाचित भएको थियो । यसपटक पनि पालिका निर्वाचनको मत परिणाम हेर्दा एमाले नै बलियो देखिएको छ ।
 

कमेन्ट गर्नुहोस्