काठमाडौं, ६ साउन - पाँच तारे होटल एभरेस्टलाई मिलेमतोमा रातो स्टिकर दिइएको तथ्य फेला परेको छ । व्यवस्थापनले होटल सञ्चालन गर्न सक्ने अवस्था नभएपछि सरकारी निकायसँग मिलेमतो गरी रातो स्टिकर टाँस्न लगाएको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

होटल व्यवस्थापनले पर्यटन विभागका इन्जिनियरलाई आर्थिक प्रलोभनमा पारेर होटल बन्द गर्नुपर्ने गरी रातो स्टिकर दिन लगाएको होटलमा लामो समयदेखि काम गर्दै आएका पुराना एक कर्मचारी बताउँछन् । सन २०१५ अप्रिल २५ को भूकम्पपछि पहिलो पटकको सरकारी अनुगमन टोलीले होटलमा हरियो स्टिकर (सञ्चालन गर्न मिल्ने) टासेको थियो । वैशाख २९ गतेको परकम्पपछि पुनः भएको अनुगमनमा भने सरकारी निकायले होटल सञ्चालन गर्न नमिल्ने भन्दै रातो स्टिकर टाँसेको थियो ।
होटल व्यवस्थापनले पारिवारिक विवाद चर्कंन थालेपछि सरकारी कर्मचारीलाई आर्थिक प्रलोभनमा पार्दै रातो स्टिकर लगाउन लगाएको स्रोत बताउँछ । सरकारी निकायले पहिलो पटक दिइएको हरियो स्टिकरमा सरकारी लोगो भए पनि दोस्रो पटक दिएको रातो स्टिकरमा सरकारी लोगो छैन ।
होटल व्यवस्थापनले आन्तरिक समस्या समाधन र कर्मचारी आन्दोलनको समस्या समाधनका लागि भन्दै रातो स्टिकर माग गरेर रातो स्टिकर लिएको स्रोतको दाबी छ । ३५ रोपनी जग्गामा रहेको होटलको पुरानो बिल्डिङमा रातो स्टिकर लगाएपछि पूरै क्षति भएको भन्दै होटल व्यवस्थापनले बिमा कम्पनी (ओरियन्टल इन्स्योरेन्स) सँग पौने ४० करोड रुपैयाँ बिमा दाबी गरेको थियो ।
काका मकबुल लारी र भतिज मुस्कुद लारीबीच सेयर बाँडफाँटमा समस्या बढ्दै थियो । काकाको मृत्युपछि भतिज मस्कुदले मकबुलका छोरा मुजाफरलाई होटलको सेयर आफ्नो नाममा सारको भन्दै सेयर दिन मानेनन् । भाइ मुजाफरले बुबाको सेयरमा आफ्नो हक रहने भन्दै कानुनी रूपमा अगाडि बढे । दाजु भाइको मुद्दा अहिले सवोच्चमा चलिरहेको छ । होटल सञ्चालन गर्न भन्दै पछिल्लो समय भने व्यवस्थापन उद्योग विभागमा पुगिरहेका छन् ।