काठमाडौं, ६ साउन - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यामगन कार्यालयले क्यासिनोको तालिम लिन भन्दै श्रीलंका हिँडेका आठ नेपाली युवतीलाई फिर्ता (अफ लोड ) गरेको छ । गत मंगलबार भारतको मुम्बई हुँदै श्रीलंकाको राजधानी कोलम्बोमा क्यासिनोको तालिम लिन हिँडेका आठ युवतीको यात्रा शंकास्पद भएको भन्दै अध्यागमनले फिर्ता गरेको हो ।
अध्यामगन कार्यालयले सबिना कार्की, सिर्जना तामाङ, निर्मला लामा, नमुना केसी, चन्द्रा काफ्ले, सिर्जना गुरुङ, उर्मिला गुरुङ र विमला भण्डारीलाई श्रीलंका भ्रमणको उद्देश्य स्पष्ट नभएको भन्दै प्रस्थान अनुमति रोकेको हो, अन्नपूर्ण पोस्टमा खबर छ ।
पछिल्लो समय मानव तस्करहरूले नेपाली युवतीलाई कुवेत, साउदीलगायतका खाडी मुलुक पठाउन श्रीलंकालाई ‘ट्रान्जिट' बनाउने गरेका छन् । भारतको अध्यामगनले समेत कडाइ गर्न थालेपछि तस्करहरूले श्रीलंकालाई ट्रान्जिट बनाएका हुन् । ती युवती क्यासिनोको तालिम लिन नभई क्यासिनो खेलाउन श्रीलंका जान लागेको स्रोतले बताएको छ ।