
हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको सोमवार हुने फाइनल खेलमा साविक विजेता विभागीय क्लब त्रिभुवन आर्मी र साविक उपविजेता विजय युथ क्लब (मकवानपुर) आमनेसामने हुने भएका छन् ।
जेठ १९ गतेबाट जारी प्रतियोगितामा क्यामरुनी क्लब एभिनियर एफसीसहित राष्ट्रियस्तरका १२ क्लबहरूको सहभागिता थियो । प्रतियोगिताको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले क्यामरुनी क्लब एभिनियर एफसीलाई पेनाल्टी सुटआउटमा ११–१० ले पराजित गर्दै पुनः मकवानपुर गोल्डकप प्रतियोगिताको फाइनलमा आफ्नो सिट सुनिश्चित गरेको थियो । विजय युथ क्लबले नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो यो ।
त्रिभुवन आर्मी क्लब र विजय युथ क्लब फाइनलमा यसअघि पनि आमनेसमाने भइसकेका छन् । दुवै टोली अघिल्लो पटक भएको तेस्रो संस्करणको फाइनलमा भेट भएका थिए ।

अघिल्लो पटकको फाइनलमा त्रिभुवन आर्मीले १–० गोल अन्तरले रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ हालको (विजय युथ क्लब) मकवानपुरलाई पराजित गरेको थियो । उपाधि विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले जित्दा मकवानपुरको विजय युथ क्लब उपविजेतामै सीमित रहन पुगेको थियो ।
पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको भएता पनि अहिले जारी प्रतियोगितामा भने थ्रिस्टार क्लबले सहभागिता नै जनाएन । त्यस्तै २०७५ सालमा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो ।
तेस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले जितेको थियो । त्यसैले पनि मकवानपुर अघिल्लो पटकको हारको बदला लिँदै उपाधि जित्ने रणनीतिका साथ मैदान उत्रिँदैछ ।
त्रिभुवन आर्मी आफनो वर्चस्वलाई निरन्तरता दिने रणनीतिका साथ मैदानमा उत्रिने निश्चित छ । सोमवार दिउँसो ३ बजे हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने फाइनल खेलबारे पत्रकार सम्मेलनमा बोल्दै त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले घरेलु टोली विजय युथले घरेलु दर्शकको समर्थन पाउँदा र होम ग्राउन्डमा खेल्दा भोलिको खेल टफनै हुने बताए ।
त्यस्तै आर्मीका प्रशिक्षक नवीन न्यौपानेले अघिल्लो पटक खेलको अन्तिम समयमा गोल खाँदै पेनाल्टी सुटआउटमा जानुपरेको स्थिति आएको बताउँदै त्यस्तो हुन नदिने बताए । उनले आफ्ना अनुभवी ९ जना खेलाडीहरू बाहिर रहे पनि नयाँ खेलाडीहरूले पनि राम्र्रो खेल प्रदर्शन गरिरहेकाले खेल प्रतिस्पर्धात्मक हुने बताए ।
विजय युथका कप्तान अशोक बरारले विपक्षी टिमका राम्रा र अनुभवी खेलाडीहरू रहेता पनि जित्ने दाउका साथ उत्कृष्ट खेल खेल्ने बताए । विजय युथका प्रशिक्षक विजय श्रेष्ठले साविक विजेता टिमसँग निकै फाइनल पुग्न दोस्रो पटक भिड्न पाएको बताउँदै राम्रो टिम भए पनि उच्च मनोबलका साथ खेल्ने बताए ।
सोमवार हुने प्रतियोगिताको विजेता टिमले नगद १५ लाख रूपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रोयल इनफिल्ड बाइक प्राप्त गर्नेछन् भने अन्य विधागत उत्कृष्ट खेलाडीले नगद २५–२५ हजार रूपैयाँ प्राप्त गर्नेछन् ।
