
काठमाडौं, ६ साउन — पश्चिम बंगाल सरकारको अनुरोधमा दार्जीलिङबाट सेना हटाइएपछि गोर्खाल्यान्ड समर्थकहरूले बिहीवार हिंस्रात्मक प्रदर्शन गरेका छन् । उनीहरूले लामाहत्तामा दुईवटा सरकारी कार्यालयमा आगजनी गरे ।

गोर्खा जनमुक्ति सेना (गोजमो) का समर्थकहरूले कर विभागको कार्यालय र पञ्चायत कार्यालयमा पेट्रोल बम प्रहार गरेर खरानी बनाइदिएको प्रहरीले बतायो ।
गोजमो तथा अन्य दलका समर्थकहरूले जिल्ला मजिस्ट्रेटको कार्यालयबाहिर पनि प्रदर्शन गर्दै इन्टरनेट सेवा पुनर्बहाली गर्न माग गरे । दार्जीलिङमा विगत ३२ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध छ ।
राज्य सरकारको अनुरोधमा जुलाई ८ मा सेना तैनाथी गरिएकोमा जुलाई १८ देखि सेनालाई फिर्ता बोलाइएको एक रक्षा अधिकारीले बताए ।
पहाडका विभिन्न दलले पश्चिम बंगालका गभर्नर केएन त्रिपाठीलाई बिहीवार भेटेर एक ज्ञापनपत्र बुझाएका छन् ।
केही पार्टी कार्यकर्ताले परम्परागत नेपाली भेषभूषामा सजिएर बिहान –याली निकाले ।
प्रहरी र सुरक्षाबलले सडकमा गस्ती गरेर प्रवेशविन्दुहरूमा कडा निगरानी गरिरहेको छ । औषधिपसलबाहेक सबै पसल, रेस्टुराँ, होटेल, विद्यालय र कलेजहरू बन्द छन् ।
पीटीआईबाट