काठमाडौं, २० पुस- प्रमुख प्रतिपक्षी एमालेले राजनीतिक सहमतिका लागि समय माग गरेपछि सभामुख ओनसरी घर्तीमगरले संसद् बैठक ६ दिन पछि सारेकी छिन् । संविधान संशोधनको विषय संसद्को क्षेत्राधिकारभएको भन्दै सोमबार सर्वोच्चले दिएको आदेशपछि सत्तापक्ष र प्रतिपक्षबीच सहमतिको सम्भावना पनि बढेको छ, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

माओवादी केन्द्रले एमालेले अबको संसद् बैठक अवरुद्ध नगर्ने विश्वास लिएको छ । लगातार संसद् बैठक अवरुद्ध हुँदा एमाले आफैँलाई अप्ठ्यारो परेको र सर्वाेच्च अदालतको सोमबारको आदेशपछि थप दबाब महसुस गरेका कारण एमाले लचिलो हुने बुझाइ माओवादी केन्द्रको छ ।
एमालेले मंगलबारको संसद् बैठक २४ पुससम्म स्थगित गर्न संसद्को कार्यव्यवस्था परामर्श समिति बैठकमा माग गर्नुको कारण पनि सहमतिमै आउन भएको बुझाइ माओवादी केन्द्रको छ । ‘दलहरूसँगको छलफल, अदालतको आदेश सबै हेर्दा एमाले अब कुनै न कुनै समझदारी बनाएर जाने गरी लचिलो भएर आउने देखिन्छ,’ माओवादी नेता अग्निप्रसाद सापकोटाले भने, ‘२४ पुसको संसद् बैठक एमालेले चल्न दिने बुझाइ हाम्रो छ ।’