
स्थानीय चुनावबाट निर्वाचित भएलगत्तै धरान उपउपमहानगरपालिकाका नगर प्रमुख (मेयर) हर्क साम्पाङले गाडीमा हिँड्दा सडकका खाल्डाखुल्डी नदेखिने भन्दै मोटरसाइकलमा हिँड्ने प्रतिबद्धता जनाएका छन् ।
उनले गरेको प्रतिबद्धता कार्यान्वयन गरिरहेका छन् । उनी नगरका काममा जाँदा निजी मोटरसाइकल प्रयोग गर्छन् ।
तर छिमेकी जिल्ला मोरङको बेलबारी नगरपालिकाले नयाँ गाडी खरिद गर्नका लागि ८० लाख रुपैयाँ बजेट छुट्याउने भएको छ । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा सवारीसाधन खरिदका लागि ८० लाख रुपैयाँ बजेट छुट्याउन नगर सभामा प्रस्ताव लैजाने तयारी गरिएको छ ।
नगरपालिकाले बजेट ल्याउनु पूर्व तयार पारेको सिलिङ बजेटमा ८० लाख रुपैयाँ सवारीसाधन खरिद गर्ने शीर्षकमा राखेको छ । उपमेयर नितु थापा कोइरालाले आफूले चढ्ने गाडी पुरानो भएको भन्दै बजेट छुट्याउन माग गरेपछि गाडी खरिद गर्न कार्यपालिकाबाट निर्णय गरिएको नगरपालिकाका एक कर्मचारीले बताए ।
ती कर्मचारीका अनुसार जेठ २९ गते आइतवार बसेको कार्यपालिका बैठकले गाडी किन्ने प्रस्ताव नगर सभाबाट पास गर्ने निर्णय गरेको छ । गाडी किन्ने निर्णय भएको भनेर चर्काे विरोध भएपछि मेयर दिलप्रसाद (डीपी) राईले निर्णयमा हस्ताक्षर नगरेको स्रोतले जनाएको छ ।
नवनिर्वाचित उपमेयर कांग्रेसकी हुन् । मेयर राई एमालेका हुन् । कार्यपालिका र नगर सभामा कांग्रेसकै बहुमत छ । उनी निर्वाचित भएर आएको १ महिना पनि भएको छैन ।
‘गाडी खरिद गर्ने भए पनि विद्युतीय गाडी खरिद गरौं भनेर मेयर सा’पले भन्नुभयो,’ ती कर्मचारीले भने, ‘उहाँले अनुगमन तथा न्यायिक समितिको काममा जाँदा विद्युतीय गाडीमा अटिँदैन भनेर भनेपछि स्कारपियो किन्नका लागि बजेट छुट्याइएको हो । ’
निवर्तमान जनप्रतिनिधिले गाडी खरिद गर्दा कांग्रेसले विरोध गर्दै सामाजिक सञ्जालदेखि सडक नै तताएको थियो । अहिले कांग्रेसबाटै जितेकी उपमेयरले नयाँ गाडी खरिद गर्न दबाब दिँदै आएकी छन् ।
उपमेयर थापाले गाडी पुरानो भएको र अनुगमनमा हिँड्दा सबै ठाउँमा पुग्न नसकिने जानकारी गराएको बताएकी छन् । जनप्रतिनिधिका लागि राज्यले दिएको सुविधा लिन खोज्दा कुनै विरोध गर्नुपर्ने कारण नभएको समेत उनले बताइन् ।
‘नगरपालिकामा रहेका केही सवारीसाधनहरू पुराना रहेछन् । खोला नाला, अप्ठ्यारो बाटोमा पुरानो गाडी ठेल्नुपर्ने, जेसीबी लगाएर तान्नुपर्ने भएकाले नयाँ गाडीको आवश्यक रहेको भनेको हुँ,’ उनले भनिन्, ‘यस विषयलाई ठूलो बनाउनुपर्ने कुनै कारण छैन ।’
बेलबारी नगरपालिकाका सूचना अधिकारी महेन्द्र खड्काले कस्तो गाडी खरिद गर्ने भन्ने उल्लेख नभए पनि सिलिङ बजेटमा सवारीसाधन खरिद गर्न भनेर ८० लाख रुपैयाँ छुट्याएको बताए ।
हाल नगरपालिकामा ३ वटा गाडी छन् । को१झ ५८७ नम्बरको स्कारपियो मेयरले प्रयोग गर्ने गर्छन् भने को१झ ५०६ नम्बरको बोलेर उपमेयरले प्रयोग गर्ने गरेका छन् । बा२झ १६३२ नम्बरको गाडी प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने गरेका छन् ।
बेलबारी नगरपालिकाकी निवर्तमान उपप्रमुख ढाकाकुमारी पराजुलीले जनप्रतिनिधिले पहिलो गाँसमै ढुंगा लाग्ने गरी बेलबारीवासीको मन अमिलो हुने निर्णय गर्न नहुने बताइन् । ‘हामीले छाड्दा सबै गाडी कन्डिसनमै थिए । नगरपालिकामा हुँदा मैले प्रयोग गर्ने गाडीमा एसी चल्दैन्थ्यो,’ उनले भनिन्, ‘मैले त धेरै पटक अरूको गाडीमा लिफ्ट मागेर पनि हिँडेको छु ।’
सामाजिक सञ्जाल फेसबूकमा स्ट्याटस लेख्दै उनले भनेकी छन्, ‘निवर्तमान जनप्रतिनिधिको हैसियतले हाम्रो नगरपालिकाले अनावश्यक, अनुत्पादक र विलासिताका क्षेत्रमा जनताको रगत–पसिना मिश्रित बजेट खर्च गर्ने नीति लिनुअघि हजार पटक सोच्नेछ र उच्च विवेकको प्रयोग गरेर नीति तथा कार्यक्रम तय गरेर कार्यान्वयन गर्नेछ ।’
गाडी किन्न बजेट छुट्याउन लागेको भन्दै नगरवासीले सामाजिक सञ्जालमा विरोध गरेका छन् । देशमा चरम आर्थिक संकट परेको बेला अनुत्पादक क्षेत्रमा खर्च गर्दा देशलाई झन् मार पर्ने भन्दै सामाजिक सञ्जालमा तीव्र विरोध भइरहेको छ । नेपालमै उत्पादनमूलक कार्यमा बजेट खर्च गर्न पनि नगरवासीले जनप्रतिनिधिलाई अनुरोध गरेका छन् ।
संघीय सरकारले अनुत्पादक सवारीसाधन खरिदमा लगानी नगर्न स्थानीय तथा प्रदेश सरकाररूलाई परिपत्र गरिसकेको छ । तर स्थानीय तहका जनप्रतिनिधि अनुत्पादक क्षेत्रमा खर्च गर्न खोजिरहेका छन् ।