काठमाडौं, ६ साउन– प्रेम सम्बन्ध राखेको भन्दै परिवार र छिमेकीबाटै कुटिएकी रुपन्देहीको मर्चावारकी एक युवतीलाई न्याय दिलाउन पहल सुरु भएको छ ।
मर्चवारको सम्मरीमाई गाउँपालिका वडानम्बर ६ डिहुलीकी यादव थरकी किशोरी कुटिएको खबर सार्वजनिक भएसँगै गृहमन्त्रालयले चासो देखाउँदै घटनाको आवश्यक छानबिन गर्न जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रविन्द्र घानुकलाई निर्देशन दिएसँगै उनलाई न्याय दिलाउन पहल सुरु भएको हो ।
जिल्ला प्रहरी प्रमुख रविन्द्र धानुकले घटनामा संलग्न किशोरीका बाबु इन्द्र यादवसहित ५ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनले घटना अमानवीय भएको भन्दै उनीहरुविरुद्ध मुद्दा चलाउने तयारी भएको पनि जानकारी दिए ।
यस्तै घटनालाई भद्रभलादमीको बहानामा पीडकलाई उन्मुक्ति दिन भूमिका खेलेको आरोप लागेका ईलाका प्रहरी कार्यालय मर्चवारका इन्सपेक्टर उदय सिंह सिजापतिलाई जिप्रपा झिकाएर छानबिन चलिरहेको छ ।