
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले एमाले कुनै पनि राजनीति दलसँग गठबन्धन गर्ने बाटोमा नरहेको बताएका छन् ।
गठबन्धनका कुनै पनि नेतालाई एमालेले प्रधानमन्त्री स्वीकार गर्ने प्रस्ताव नगरेको पौडेलले स्पष्ट पारे ।
रिटर्नी फेडरेसन, नेपालको कार्यक्रमलाई शनिवार बुटवलमा सम्बोधन गर्दै पौडेलले भने, ‘एमालेसँग गठबन्धन बनाउने र भत्काउने फुर्सद छैन । हामी आउँदो निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउनमा केन्द्रित छौं ।’
पौडेलले केही दलका नेताले आफूलाई एमालेले प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्दै नेपाली कांग्रेससँग बार्गेनिङ गरिरहेको उनको भनाइ थियो । ‘नेकपाको दुई तिहाइको सरकार ढलाएर विपक्षीको शरणमा जानेहरूलाई प्रधानमन्त्री स्वीकार गर्ने, उनीहरूसँग गठबन्धन हुने कुनै पनि गठबन्धन हुँदैन त्यस्तो भ्रमका पछाडि कोही लाग्नु हुँदैन,’ पौडेलले भने ।
पौडेलले थपे, ‘एकातर्फ महागठबन्धन र अर्कोतर्फ एमाले एक्लै निर्वाचनमा लड्दा पनि मतको हिसाबले अहिले पनि एमाले पहिलो दल बनेको छ । आगामी निर्वाचनमा एमाले मत र सिटको हिसाबले पनि पहिलो दल बन्नेछ ।’
एमाले हार्दा देश र जनता दुवैले हार्ने भएकोले अबको हार्ने छुटसमेत नभएको पौडेलले बताए । विदेशबाट फर्किएका नेपाली युवाहरूलाई स्वदेशमै लगानी गरी आत्मनिर्भर र आत्मसम्मानको उद्यम गर्न सुझाव दिँदै उनले विदेशमा भन्दा नेपालमा लगानीको सम्भावना रहेको बताए ।