काठमाडौँ, ८ साउन- स्थानीय तहको चुनावमा कांग्रेस दोस्रो स्थानमा खुम्चिनुलाई पार्टीभित्रका नेताहरूले ‘नेतृत्वको रणनीतिक असफलता’ ठहर गरेका छन्। केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले नेतृत्वलाई दोषी ठहर्याएका हुन्।

चार महिनापछि शनिबार सुरु पार्टी बैठकमा नेताहरूले असोज २ मा हुने प्रदेश २ को चुनाव, त्यसलगत्तै हुने प्रदेश र संघीय संसद्को चुनावमा यस्तै गल्ती नदोहोर्याउन सचेत गराउँदै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावी रणनीति बलियो बनाउन र अलोकप्रिय निर्णय नलिन ध्यानाकर्षण गराएका छन्।
चुनावको मुखमा नेतृत्व तहबाट भएका अलोकप्रिय निर्णय, समयमा उम्मेदवार चयन गर्न नसक्नु, पहुँच र गुटप्रतिको बफादारिताका आधारमा टिकट वितरण गर्नु, विपक्षीका आरोपलाई प्रभावकारी माध्यमबाट खण्डन गर्न नसक्नुजस्ता कारणले रणनीतिक रूपमा पार्टी नेतृत्व कमजोर देखिँदा हार व्यहोर्नुपरेको उनीहरूले बताएका छन्, आजको कान्तिपुरमा खबर छ ।