
नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधव कुमार नेपालले आफ्नो साथ छाडेर एमालेमै बसेका १० स्थायी कमिटी सदस्यहरूप्रति तिखो प्रहार गरेका छन् ।
पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूहरूमाथि धारेहात लगाउने दुस्साहस गरिरहेको बताए ।
उनले भने,'कथित १० भाइको मगजबाट अझै नशा उत्रिएको छैन । अझै हामीमाथि धारेहात लगाउने दुस्साहस गरिरहेका छन् । त्यो धृष्टता अब फेरि नगरून् ।'
एमालेबाट आफूहरूले गरेको विद्रोह जायज रहेको समेत बताए ।
उनले एमालेमा आएको अहंकारी प्रवृत्तिले गर्दा देशमाथि नै कुठाराघात भएको टिप्पणी गरे ।
उनले भने,'अनि समाजवादको कुन नमूनालाई नेपालमा अवलम्बन गर्ने भन्ने विषयमा कहिल्यै छलफल भएन । वैचारिक मन्थन, जनताका एजेण्डालाई बेवास्ता गर्यो ।'