
काठमाडौं, ८ साउन — दिल्लीमा बस्ने संगीतकार विपुल क्षेत्री कालिम्पोङमा हुर्केबढेका हुन् । उनी आफ्नो पहिलो एल्बम स्केचेज अफ दार्जीलिङका लागि चिनिन्छन् । उनी विगत केही दिनदेखि सुत्न सकेका छैनन् ।

‘दार्जीलिङ जलिरहेको छ । उत्तर बंगालका सुन्दर पहाडहरूमा निर्दोष मानिसको ज्यान जानु डरलाग्दो र पीडादायी छ,’ क्षेत्री भन्छन् ।
गोर्खाल्यान्ड आन्दोलनको द्वन्द्व संगीतमार्फत मात्र समाधान गर्न सकिन्छ भन्छन् क्षेत्री । यसका लागि उनले अन्य सांगीतिक ब्यान्डहरू परिक्रमा, श्याडो एन्ड लाइट, ब्लु र छायाँ एन्ड स्मितिसँग सहकार्य गर्दैछन् ।
क्षेत्रीका अनुसार दार्जीलिङमा ‘प्रहरी बलले अत्यधिक बल प्रयोग गरेका कारण धेरै निर्दोष व्यक्तिहरूको ज्यान गएको र स्थानीय सञ्चारमाध्यम र इन्टरनेटमा प्रतिबन्ध लगाइएको’ विषय राष्ट्रिय सञ्चारमाध्यममा आओस् भनेर उनी र ब्यान्डहरूले कन्सर्टमा भाग लिएका हुन् ।
‘संगीत साँच्चै नै बलियो शक्ति हो र यसले दार्जीलिङको अवस्थाका बारेमा अन्य ठाउँका मानिसमा सचेतना जगाउन सक्छ । हामीहरू सांगीतिक तरिकाले के भइरहेको छ बताउँछौं र परिवर्तन आवश्यक रहेको भन्छौं । यो कुरा सबैले बुझ्ने भाषामा भन्नु जरूरी छ र त्यो भाषा संगीत हो,’ क्षेत्री भन्छन् । उनले नेपाली गीतहरू गाउनेछन् ।
एजेन्सी