११ साउन २०८३, सोमबार

चीनको घेराबन्दी गर्न अमेरिकाले ल्यायो अर्को नयाँ योजना

असार १३, २०७९
चीनको घेराबन्दी गर्न अमेरिकाले ल्यायो अर्को नयाँ योजना

अमेरिकाले चीनको घेराबन्दी गर्नका लागि ल्याएको हिन्द प्रशान्त रणनीतिअन्तर्गत एक नयाँ पहलको आरम्भ गत शुक्रवार गरेको छ । 

अमेरिका, अस्ट्रेलिया, न्युजील्यान्ड, बेलायत र जापान मिलेर पार्टनर्स इन ब्लु पसिफिक (पीबीपी) को घोषणा गरेका हुन् । 

चीनले प्रशान्त महासागरमा रहेका टापु मुलुकहरूसँग आक्रामक रूपमा सहकार्य बढाउन थालेपछि अमेरिका र साझेदारहरूले नयाँ पहल थालेका हुन् । 

एक संयुक्त विज्ञप्ति जारी गर्दै पाँच मुलुकहरूले पीबीपी प्रशान्त क्षेत्रका प्राथमिकताहरूलाई सहयोग गर्नका लागि बनाइएको समावेशी अनौपचारिक संयन्त्र भएको बताए । प्रशान्त क्षेत्रीयता, सार्वभौमसत्ता, पारदर्शिता, जवाफदेहिताका सिद्धान्तका साथ प्रशान्त टापु मुलुकहरूको नेतृत्वमा यो पहल कार्यान्वयन गरिने संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । 

अमेरिका र उसका साझेदारहरूले तीनवटा प्राथमिकताका क्षेत्रमा जोड दिने बताएका छन् । पहिलो, प्रशान्त क्षेत्रका लागि प्रभावकारी रूपमा परिणाम दिलाउने । त्यसका लागि विद्यमान परियोजनाको मूल्यांकन तथा भविष्यका परियोजनाको योजना बनाउने काम गरिनेछ । 

दोस्रो, प्रशान्त क्षेत्रीयतालाई बलियो बनाइनेछ । प्रशान्त क्षेत्रका सरकार र साझा मञ्चहरूसँग थप निकट सम्बन्ध राखिनेछ ।

तेस्रो तथा अन्तिम, प्रशान्त क्षेत्रका मुलुक र बाँकी विश्वबीचको सहकार्य विस्तार गरिनेछ । 

आवरणमा प्रशान्त मुलुकहरूको हित गर्ने भनी बनाइएको पहल भए पनि पीबीपी खासमा अकस साझेदारीकै विस्तृत रूप हो । 

आणविक हतियारमा सहकार्यका कारण अकस साझेदारीमा जोडिन नचाहेको न्युजील्यान्ड पनि प्रशान्त क्षेत्रका टापु मुलुकमा चीनको प्रभाव बढेपछि आत्तिएर अकस प्लसका रूपमा रहेको पीबीपीमा जोडिएको हो । 

त्यस्तै जापानले पनि चीनविरोधी नीति अपनाउँदै संविधान संशोधन गरेर आफूलाई सशस्त्र बनाउन खोजेको छ र अमेरिकासँगको सैन्य साझेदारीलाई थप घनिष्ठ बनाउन खोजेको छ । 

यस साझेदारीमा दक्षिण कोरिया पनि जोडिने सम्भावना छ । त्यो मुलुक पनि आक्रामक रूपमा चीनविरोधी बन्दै गएको छ । नयाँ दक्षिणपन्थी सरकारले अमेरिकासँगको सम्बन्ध बलियो बनाउँदै नेटोमा समेत जोडिने चाहना व्यक्त गरेको छ भने हिन्द प्रशान्त क्षेत्रमा चीनको घेराबन्दीका लागि गरिने सबै प्रयासमा सहभागिता जनाउन खोजेको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्