११ असार २०८३, बिहीबार

बुटवलमा सञ्चालित ई–रिक्साको भाडादर समायोजन

बुटवलमा सञ्चालित ई–रिक्साको भाडादर समायोजन

बुटवलमा सञ्चालित अटो रिक्सा (ई–रिक्सा) को भाडादर समायोजन गरिएको छ ।

न्यूनतम २५ रूपैयाँ रहेको भाडामा ५ रूपैयाँ वृद्धि गरी ३० रूपैयाँ पुर्‍याइएको हो ।

हरियाली यातायात प्रालिका अध्यक्ष कृष्ण तिवारीले व्यवसायी, चालक र नगरवासीको छलफलबाट असार १५ गतेदेखि लागू हुने गरी भाडादरमा वृद्धि गरिएको बताए ।

‘२०७२ सालदेखि ई–रिक्साको भाडादर अहिलेसम्म २५ रूपैयाँबाट बढाइएको थिएन,’ अध्यक्ष तिवारीले भने, ‘बढ्दो महंगीले स्वरोजगार मजदुरहरूलाई समस्या भएपछि उपभोक्तालाई मार नपर्ने गरी भाडादर थोरै वृद्धि गरिएको हो ।’ तर चालक र यात्रुको आपसी समझदारी अनुसार टाढा जानुपर्ने भए भाडादर धेरै हुनेछ ।

भाडा वृद्धिको जानकारी प्रालिले बुटवल उपमहानगरपालिकालाई गराइसकेको छ । १ हजार ४४० ई–रिक्सा बुटवल उपमहानगरपालिकामा दर्ता भएर सञ्चालनमा छन् । अझै धेरै रिक्सा दर्तामा गएका छैनन् ।

यातायात प्रालिका सचिव सुमन रायमाझीले १५ वटा चोकबाट लामो दूरीमा टाढा जानुपर्ने अवस्था भए ३० रुपैयाँभन्दा बढी भाडा हुनेछ । ‘न्यूनतम ३० रुपैयाँ भएको छ । जस्तैः बुटवल बेस क्याम्पबाट फूलबारी जानुपर्ने, चौराहाबाट मोतिपुर जानुपर्ने भए भाडा बढी हुन्छ,’ सचिव रायमाझीले भने ।

अहिले राजमार्ग चौराहा, बेस क्याम्प, पुरानो बसपार्क, मिलनचोक, गोलपार्क, देवीनगर चौपारी, योगीकुटी, नयाँ बसपार्क, पुष्पलाल पार्क, हिलपार्क ट्राफिकचोक, आम्दा अस्पताललाई केन्द्र मानिएको छ । बुटवलमा ई–रिक्सा सञ्चालनमा आएको झण्डै ८ वर्ष पुगे पनि व्यवस्थित रूपमा चल्न सकेका छैनन् । 

नगरपालिकाले केही रिक्सा दर्ता गरेर कर लिने तर दर्ता नभएका रिक्सालाई कानूनी दायरामा नल्याउँदा व्यवसायीमाथि विभेद गरेको मजदुर छविलाल रेग्मीले गुनासो गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्