२३ जेठ २०८३, शनिबार
आठ महिनामा प्रेम आलेले गरेका नियुक्ति

आसेपासे भर्तीमा आलेको कीर्तिमान: २३ नियुक्ति, १०१ कर्मचारी भर्ना, १२ बर्खास्त [सूचीसहित]

असार १५, २०७९
आसेपासे भर्तीमा आलेको कीर्तिमान: २३ नियुक्ति, १०१ कर्मचारी भर्ना, १२ बर्खास्त [सूचीसहित]

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पदमा बस्दाको ८ महिना २० दिनमा प्रेम आलेले सार्वजनिक निकायलाई आफन्त र आसेपासेको भर्ती केन्द्र नै बनाए । ३ दिनअघि मात्रै बहिर्गमन भएका आले वर्तमान सरकारका अन्य सबै मन्त्रीको तुलनामा बढी आलोचित र विवादित पनि भए । 

आले सार्वजनिक पदमा बसेका कर्मचारीलाई गाली बेइज्जती गर्नेदेखि मन्त्रालयकै कर्मचारीलाई समेत हप्कीदक्की लगाउन खप्पिस थिए । आलेले कर्मचारीप्रति गरेको व्यवहार तथा सार्वजनिक निकायमा दिएको जिम्मेवारी एकपछि अर्को विवादमा आइरहँदा पनि उनले आफन्त र आसेपासेलाई नियुक्त गर्न छाडेनन् ।

आलेले जेठ १२ गते मन्त्री पदबाट राजीनामा दिएको दिन समेत नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीलाई हटाउन ठूलो मेहनत गरेका थिए । उनको बहिर्गमन हुने दिनमै पर्यटन बोर्ड सञ्चालक समितिको बैठक मन्त्रालयमै बोलाउन लगाए । मन्त्रालयमा बोलाएको बैठकमा गणपुरक संख्या नपुगेपछि बोर्डको सीईओ हटाउने आलेको अन्तिम कसरत असफल भएको पर्यटन मन्त्रालयकै एक उच्च अधिकारीले लोकान्तरलाई बताए ।

आलेले पर्यटन मन्त्री भएपछिको पहिलो नियुक्ति नेपाल वायु सेवा निगममा कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई दिएका थिए । उनले तत्कालीन महाप्रबन्धक डिमप्रकाश पौडेलको अधिकार खोसेर अधिकारीलाई नियुक्त गरेका थिए । मन्त्री पद छाड्ने १ हप्ताअघि मात्रै आलेले आफैंले नियुक्त गरेका अधिकारीलाई बर्खास्त समेत गर्न भ्याए । उनले कार्यकारी अध्यक्ष हटाएर निगमकै कर्मचारी दीपुराज ज्वारचनलाई अस्थायी महाप्रबन्धकको जिम्मा दिए । निगममा कार्यकारी अध्यक्ष हुँदा महाप्रबन्धक र महाप्रबन्ध कार्यकारी हुँदा अध्यक्ष भूमिकाविहीन बनाउन राजनीतिक नेतृत्व नै उद्दत छ ।

वायु सेवा ऐन २०१९ ले निगमको महाप्रबन्धक र अध्यक्ष दुवै हुनसक्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाका कारण राजनीनिक नेतृत्वलाई पटक–पटक खेल्ने मौका मिल्ने गरेको छ । राजनीतिले नै निगम चलाउने र मनलाग्दा नियुक्त र मन नलाग्दा हटाउने पुरानै चलन निगममा बसेको नेवानिका एक पूर्व अध्यक्षले बताए ।

आलेले आफैंले नियुक्त गरेका वायु सेवा निगमका अध्यक्षलाई ७ महिनामा नै हटाउने र उनीप्रति गरेको व्यवहार सबैभन्दा बढी विवादमा आयो । आलेले कर्मचारीलाई अपशब्द प्रयोग गरेर गाली गरेको, हातपात गरेको र सुरक्षा थ्रेट दिएको विषयले आले थप विवादमा तानिए ।

मन्त्री आलेले वायु सेवा निगममै १०१ जना कर्मचारीलाई करारमा नियुक्त गरेका छन् । थप कर्मचारीलाई नियुक्त गराउने विषयमा निगम अध्यक्षले ढिलो गरेको भन्दै आलेले अधिकारीमाथि अश्लील गाली गरेको अडियो संवाद नै सार्वजनिक भयो ।

मन्त्री आलेको कार्यकालमा सबैभन्दा बढी विवाद पर्यटनका मुख्य निकाय नेपाल पर्यटन बोर्ड, वायु सेवा निगम, नागरिक उड्डयन प्राधिकरणकै नेतृत्वलाई चलाउँदा भएको छ । 

बोर्ड सीईओ डा. धनञ्जय रेग्मीलाई प्रक्रिया नै नपुर्‍याई हटाउन खोज्दा आलेमाथि नै ‘ब्याक फायर’ भयो । उनले रेग्मीलाई हटाउन गरेको पटक–पटकको प्रयास असफल भयो भने रेग्मीलाई हटाउन खोजेकै कारण अदालतको मानहानीसम्मको मुद्दा खेप्नुपरेको छ । 

आलेको निर्देशनमा भएको पर्यटन बोर्डकै सदस्य नियुक्तिमा पनि विवाद भयो । उनले नियुक्त गरेका १ सदस्य लिला लामाले बोर्ड बैठक टेक्नै नपाई राजीनामा दिनुपर्‍यो ।

निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने ५ सदस्यमध्ये २ जनालाई हटाएर मन्त्री आलेले २ जनालाई नियुक्त गरेका छन् । ४ वर्षका लागि बोर्ड सदस्यमा नियुक्त भएका सदस्यद्वय नवाङ निमा शेर्पा र कृष्णकुमार साहलाई डेढ वर्षमै हटाएका छन् । हटाएका २ जना सदस्यको ठाउँमा अर्को २ जना नियुक्त गर्न भने भ्याएनन् । यसअघि गत चैत पहिलो हप्ता आलेले बोर्ड सदस्यमा अर्का २ जना मिलन देवकोटा र मदन आचार्यलाई नियुक्त गरेका थिए ।

आलेले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीलाई हटाएर नयाँ प्रदीप अधिकारीलाई नियुक्त गर्दा पनि विवाद भएको थियो । आलेले उनको नियुक्तिमा पनि अदालतको आदेश विपरीत काम गरेका छन् ।

आलेले पशुपति क्षेत्र विकास कोषमा १ सदस्य, लुम्बिनी विकास कोषमा सदस्य सचिवसहित ९ जना, नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानमा २ जना नियुक्त गरेका छन् । प्रतिष्ठानमा नियुक्त गरेका अध्यक्ष र कार्यकारी निर्देशक दुवैको १ वर्षभन्दा बढीको पदावधि छँदै आलेले हटाएका हुन् । प्रतिष्ठानमा आलेले अध्यक्षमा उङ्दी छिरिङ शेर्पा र कार्यकारी निर्देशकमा रुद्रप्रसाद चापागाईंलाई नियुक्त गरेका छन् ।

पछिल्लो समय आलेले तारागाउँ विकास समितिको सदस्य सचिवमा आफ्नै भतिजलाई नियुक्त गरेका छन् । आफैंले नियुक्त गरेका नारद लुइँटेललाई ३ महिनामा नै हटाएर आलेले तारागाउँको सदस्य सचिवमा भतिजा महेन्द्रकुमार थापालाई नियुक्त गरेका छन् । उनले समितिको अध्यक्षमा डडेल्धुराका सुरेशराज जोशीलाई नियुक्त गरेका छन् ।

आले पर्यटनमन्त्री भएपछि वायु सेवा निगममा नियुक्त भएका करार कर्मचारीको सूची :

पर्यटनमन्त्री प्रेम आलेले नियुक्त गरेका निकाय र प्रमुख व्यक्तिहरू:

salt training

कमेन्ट गर्नुहोस्