
मोरङको रंगेलीमा आगो लगाएर एक महिलाको हत्या गरिएको छ ।
शुक्रवार राति करीब १० बजे रंगेली नगरपालिका-१, बिर्ताबजारमा स्थानीय ३१ वर्षकी बबिता मल्लिकको मट्टितेल छर्की आगो लगाएर हत्या गरिएको हो ।
श्रीमतीको हत्या आरोपमा प्रहरीले उनका श्रीमान् तिलक मल्लिकलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
शुक्रवार राति घरायसी विवादमा तिलकले श्रीमती बबितालाई मट्टितेल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । ‘घरायसी विवादमा तिलकले मट्टितेल छर्केर आगो लगाएको देखिन्छ, आगलागीबाट उनीहरूको घर पनि जलेको छ,’ उनले भने ।
आगलागीबाट घाइते बबितालाई प्रहरीले उद्धार गरी उपचारका लागि कोसी अस्पताल पठाएको थियो । उनको उपचारकै क्रममा शनिवार बिहान ६ बजे मृत्यु भएको डीएसपी श्रेष्ठले बताए ।
प्रहरीका अनुसार उनीहरूको विवाह भएको ५ वर्ष भएको थियो । घरमा उनीहरू दुई जना मात्र बस्थे ।
बबिताका श्रीमानमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट घरभित्रको लत्ता कपडा, भाँडाकुँडा र अन्नपात पनि जलेको छ ।