२२ जेठ २०८३, शुक्रबार
वाम तालमेलको कसरत

वामपन्थी एकतालाई दबाब सिर्जना गर्न तत्कालीन नेकपाको बहुमत सचिवालय सदस्यको बैठक बस्ने तयारी

असार १९, २०७९
वामपन्थी एकतालाई दबाब सिर्जना गर्न तत्कालीन नेकपाको बहुमत सचिवालय सदस्यको बैठक बस्ने तयारी

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय सदस्यहरूको बैठक बस्ने गरी नेताहरूले तयारी गरिरहेका छन् । 

माओवादी केन्द्र र एमाले एकीकृत भएर बनेको नेकपामा ९ सदस्यीय सचिवालय थियो । उक्त सचिवालयको बहुमत सदस्य पुनः वामपन्थी एकता प्रयासमा छलफलका लागि जुट्न लागेका हुन् ।

माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताको ध्रुवीकरण प्रयासका लागि तत्कालीन नेकपाको बहुमत सदस्यको बैठक बस्नेबारे छलफल भइरहेको जानकारी गराएका थिए । 

माओवादी केन्द्रको केन्द्रीय सदस्य हेमराज भण्डारीले भने, ‘तत्कालीन नेकपाको बहुमत सचिवालय सदस्यहरूको बैठक बसेर वापमन्थी ध्रुवीकरणबारे छलफलको तयारी भएको जानकारी अध्यक्षले बैठकमा गराउनुभएको थियो । आजभोलिमै बैठक बस्ने तयारी भएको उहाँले बताउनु भएको थियो ।’

प्रचण्डले माओवादी केन्द्रको बैठकमा बताएअनुसार, आज वा भोलि नै नेकपाको सचिवालयमा रहेका ९ मध्ये ५ जना नेताहरूको बैठक बस्ने सम्भावना रहेको छ । 

प्रचण्डले माओवादी घटकहरू एकीकृत हुने अवस्था बनेको बताउने क्रममा तत्कालीन नेकपाको सचिवालयका बहुमत सदस्यको बैठकबारे पनि जानकारी गराएका थिए । 

तत्कालीन नेकपा रहेका सचिवालय सदस्यमध्ये अहिले ४ जना एमालेमा छन् भने ५ जना एमालेभन्दा बाहिर छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा र विष्णु पौडेल नेकपाको सचिवालय सदस्य थिए । 

त्यसबाहेक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपाको सचिवालय सदस्य थिए । 

तत्कालीन नेकपाको सचिवालयमा अहिले एमालेभन्दा बाहिर रहेका नेताहरूको बहुमत थियो । तिनै बहुमत नेताहरूको बैठक बसेर वामपन्थी ध्रुवीकरणको प्रयासबारे छलफल गर्न लागेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वामपन्थी दलहरूलाई मिलाएर समाजवादी मोर्चा बनाउने बताउँदै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्