विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तोकिएको समयभित्र निर्माण कार्य नसक्ने निर्माण कम्पनीको भुक्तानी रोक्ने चेतावनी दिएका छन्।
महानगर क्षेत्रभित्र सञ्चालित विकास आयोजनाको काममा नियतवस ढिलाइ गर्ने निर्माण कम्पनीको भुक्तानी रोक्ने उनले चेतावनी दिएका हुन्। चालु आर्थिक वर्ष सकिन लाग्दा मेयर कोइरालाले विकास आयोजनाहरूको अनुगमनको कामलाई पनि तीव्र पारेका छन्।
पटक–पटक म्याद थप्दा पनि निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै तोकिएको समयभित्र आयोजना सम्पन्न गर्ने प्रवृत्ति रहेको भन्दै मेयर कोइराला आफै स्थलगत निरीक्षणमा खटिएका हुन्।
ठेकेदार कम्पनीको यसै प्रवृत्तिलाई निरुत्साहित गर्न विराटनगर महानगरपालिकाले निर्माणको अनुगमनलाई तीव्रता दिएको उनले जानकारी दिए। महानगरले तोकिएको समयमा काम सम्पन्न नगर्ने ठेकेदारको भुक्तानी रोक्ने तयारी थालेको पनि उनको भनाइ छ।
मेयर कोइरालाको नेतृत्वमा सोमवार विराटनगरमा निर्माणाधीन विभिन्न विकास निर्माणका योजनाको अनुगमन गरिएको छ। उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत, योजना महाशाखाका प्रमुख गोपाल पोखरेल, इन्जिनियर अर्जुन बस्नेतसहितको टोलीले अनुगमन गरेको हो।
टोलीले विराटनगर महानगर परिसरभित्र निर्माणाधीन भवन, वीरेन्द्र सभागृह र हिमालय रोडमा निर्माण भइरहेको संरचनाको अनुगमन गरेको थियो। ठेक्का लिने, तर समयमै काम सम्पन्न नगर्ने प्रवृत्ति बढ्दै गएका कारण अनुगमन गरिएको प्रमुख कोइरालाले बताए।
उनले अब महानगरले दिएको समयभित्र निर्माण सम्पन्न नगर्ने ठेकेदारको भुक्तानीसमेत रोक्ने चेतावनी दिए। ‘ठेक्का लिने तर तोकिएको समयमा काम नसक्ने प्रवृत्ति छ हाम्रोमा,’ कोइरालाले भने, ‘विगतमा के भयो के भएन अब त्यतातिर नजाऔं, तर अब तोकिएको समयमा निर्माण सम्पन्न हुनुपर्छ। यदि भएन भने महानगरले कडाइका साथ भुक्तानी रोक्छ।’