०९ असार २०८३, मंगलबार
रामेछाप बस दुर्घटना अपडेटः

धुलिखेलमा उपचाररत चार जनाको मृत्युः मृतकको संख्या १३ पुग्यो

धुलिखेलमा उपचाररत चार जनाको मृत्युः मृतकको संख्या १३ पुग्यो

रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। दुर्घटनापछि उपचारका लागि धुलिखेल ल्याइएका थप ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो। यसअघि ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

मंगलवार विहान रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानास्थित लुभुघाट नजिकै बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको थियो। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी राजकुमार थिङका अनुसार घटनास्थलमा चार महिला र पाँच पुरुषको शव फेला परेका थिए। 

दुर्घटनामा घाइते भएको १८ जनाको धुलिखेलमा र तीन जनाको काठमाडौंमा उपचार भइरहेको छ। दुर्घटनापछि २२ जनालाई उपचारका लागि धुलिखेल र ३ जनालाई काठमाडौं पठाइएको थियो। 

हालसम्म मृतकहरूको पहिचान हुन सकेको छैन। प्रहरी उद्दार कार्यमै व्यस्त भएकाले मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। बसमा रहेका यात्रीका आफन्तहरूलाई घटनास्थलमा आउन आग्रह गरिएको छ। 

मृतकका आफन्तहरू आउने क्रममा रहेकाले उनीहरू आइसकेपछि सनाखतको प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। 

दुर्घटनामा परेको बसमा कति यात्रु सवार थिए भन्ने यकीन हुन सकेको छैन। दुर्घटनाको कारण पनि खुल्न सकेको छैन। दुर्घटनास्थलको बाटो ओरालो रहेको र मोडसमेत रहेकाले चालकले मोडमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । बस सडकबाट झन्डै ३०÷३५ मिटर तल खसेको थियो।

salt training

कमेन्ट गर्नुहोस्