०९ असार २०८३, मंगलबार

रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परी मृत्यु भएकाहरूको पहिचान खुलेको छ। 

मंगलवार विहान रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानास्थित लुभुघाट नजिकै बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा मृत्यु भएकाहरूको पहिचान खुलेको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी राजकुमार थिङका अनुसार मृत्यु हुनेमा अधिकांश रामेछापको सुनापति गाउँपालिकाका रहेका छन्। मृत्यु हुनेमा सुनापति ५ का ६० वर्षीय ठूला तामाङ, ३६ वर्षीय खड्कबहादुर बिक, २२ वर्षीया विपना तामाङ, र ३६ वर्षीया सन्जु आले मगर रहेकी छन्। 

त्यस्तै, सुनापति गाउँपालिका ४ की २६ वर्षीया समरिता तामाङ, काभ्रेपलान्चोक जिल्ला रोशी गाउँपालिका ४ का २७ वर्षीय कमल तामाङ, पाँचखाल ८ का १८ वर्षीय सुदीप गजमेर, ४० वर्षीय कुलबहादुर बिक तथा काभ्रेपलान्चोक मण्डन देउपुर गाउँपालिका ९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धरको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरु सबैकाे घटनास्थलमै मृत्यु भएकाे थियाे।

दुर्घटनामा घाइते भई उपचारका लागि धुलिखेल ल्याइएका ४ जनाको पनि उपचारका क्रममा मृत्यु भएको छ। उनीहरुको पहिचान खुल्न बाँकी रहेको छ। उपचारका क्रममा १ महिला र ३ पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा घाइते भएका १८ जनाको धुलिखेल र ३ जनाको काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परेको बसमा कति यात्रु सवार थिए भन्ने यकीन हुन सकेको छैन। बस सडकबाट झन्डै ३०/३५ मिटर तल खसेको थियो।
 

salt training

कमेन्ट गर्नुहोस्