
ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिंगेदाउ’को पहिलो गीत रिलिज गरिएको छ ।
मंगलवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘आगोबिना बिंडी जल्दैन’ बोलको गीत युट्युबमा रिलिज गरिएको हो ।
गीतमा चलचित्रका मुख्य कलाकारहरु केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल र कुशल विष्ट फिचर्ड छन् । रामजी लामिछानेको कोरियोग्राफीमा तयार गीतमा केकीसँग मुकुन र आँचलसँग कुशलको जोडी बाँधिएको छ ।
शान्तीश्री परियार र प्रविन बेडवालको स्वर रहेको लोकलयको गीत मुक्त उदासले लेखेका हुन् । गीतमा अर्जुन पोखरेलको संगीत छ ।

स्वर्गीय साहित्यकार भीमनीधि तिवारीको कथा कृतिमा आधारित ‘झिंगेदाउ’लाई पुराना निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।
प्रदीप भारद्वाजको पटकथा रहेको चलचित्रको निर्मातामा सुलभ प्रतीक देउजा र समीक्षा देउजा छन् । कपनगढी सिनेमा र फिल्मक्रिउ नेपालको प्रस्तुति रहेको चलचित्रलाई विष्णु घिमिरे ‘कल्पित’ले छायांकन तथा मित्र देव गुरुङले सम्पादन गरेका हुन् ।
भदौ १७ देखि चलचित्र प्रदर्शनमा आउँदैछ ।