
भक्तपुरबाट काठमाडौंतर्फ तीव्र गतिमा जाँदै गरेको बा४ख २२१२ नम्बरको बसले काठमाडौंतर्फ जाँदै गरेको बा७८प १०८३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
मंगलवार मध्यपुरथिमी नगरपालिका–३ गठ्ठाघरस्थित ट्राफिक कार्यालय अगाडि अरनिको राजमार्गमा भएको दुर्घटनामा स्कुटरमा सवार काठमाडौं जडीबुटीस्थित बर्गर हाउसमा कार्यरत २४ वर्षीय रेजिना तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
दुवै साधन एकआपसमा ठोक्किए दुर्घटना हुँदा स्कुटर चालक रामेछाप दोरम्बा गाउँपालिका–५ घर भई हाल काठमाडौं जडीबुटी बस्ने १८ वर्षीय सिद्धार्थ मगरको भक्तपुर इन्टरनेसनल अस्पताल कौशलटारमा उपचार भइरहेको उनले जानकारी दिए । प्रत्यक्षदर्शी बलराम श्रेष्ठले तीव्र गतिमा आएको बसले ठक्कर दिएर दुर्घटना हुँदा स्कुटरमा पछाडि सवार महिलाको घटनास्थलमै मृत्यु भएको र टाउकोमा ठूलो क्षति पुगेको बताए ।
घटनास्थलमा प्रहरी वृत्त थिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी प्रहरीले दुवै सवारीसाधन र बस चालक काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–५ नारायणस्थान बस्ने ५० वर्षीय पोते तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रनाउ पाण्डेले जानकारी दिए ।