०५ साउन २०८३, मंगलबार

फर्नान्डेजको गोलसँगै खेलमा फर्कियो अर्जेन्टिना, इंग्ल्याण्डसँग बराबरी

असार ३२, २०८३
काठमाडौं
फर्नान्डेजको गोलसँगै खेलमा फर्कियो अर्जेन्टिना, इंग्ल्याण्डसँग बराबरी

फिफा विश्वकपको सेमिफाइनल खेल निकै रोमाञ्चक र नाटकीय मोडमा पुगेको छ। खेल सकिन केही मिनेट मात्र बाँकी रहँदा अर्जेन्टिनाले बराबरी गोल फर्काएपछि इंग्ल्याण्डको फाइनल पुग्ने सपनामा धक्का लागेको छ।

 एटलान्टा स्टेडियममा जारी यस प्रतिस्पर्धात्मक खेलको ८५ औँ मिनेटमा अर्जेन्टिनाका लागि इन्जो फर्नान्डेजले गोल गरेपछि अहिले दुवै टोली १–१ को बराबरीमा रहेक हुन् ।

खेलको ५५ औँ मिनेटमा मोर्गन रोजर्सको उत्कृष्ट पासमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए। गोर्डनको गोलसँगै एटलान्टा स्टेडियममा रहेका इंग्लिस समर्थकहरूमा खुसीयाली छाएको थियो र इंग्ल्याण्ड सन् १९६६ पछि पहिलो पटक विश्वकपको फाइनलमा पुग्ने दिशामा अग्रसर देखिएको थियो। 

तर, अग्रतापछि इंग्ल्याण्डले अपनाएको रक्षात्मक रणनीति उसका लागि प्रत्युत्पादक बन्यो।  अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले दोस्रो हाफमा निकोलस ओटामेन्डी, रोड्रिगो डे पल र गोन्जालो मोन्टियल जस्ता अनुभवी खेलाडीहरूलाई मैदान पठाएर आक्रमण सुरु गरेका थिए।

सोही क्रममा अर्जेन्टिनाका म्याक एलिस्टरको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो भने निको गोन्जालेजको सशक्त हेड प्रहारलाई इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले उत्कृष्ट बचाउ गर्दै टोलीको संकट टारेका थिए। 

यद्यपि, अर्जेन्टिनाको निरन्तरको दबाबलाई इंग्ल्याण्डले लामो समय थाम्न सकेन। खेलको ८५ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले उपलब्ध गराएको सुन्दर पासलाई सदुपयोग गर्दै इन्जो फर्नान्डेजले गोल गरेर खेललाई बराबरीमा ल्याए। 

 यो खेलको विजेताले न्युयोर्कमा हुने फाइनलमा स्पेनको सामना गर्नेछ। 

salt training

कमेन्ट गर्नुहोस्