
एटलान्टा स्टेडियममा जारी फिफा विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्याण्ड विरुद्ध सानदार पुनरागमन गरेको छ। खेलको ५५ औँ मिनेटमा एन्थोनी गोर्डनको गोल मार्फत पछि परेको अर्जेन्टिनाले अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै खेललाई २–१ को स्थितिमा पुर्याएर फाइनलको यात्रा लगभग सुनिश्चित गरेको हो।
अग्रता जोगाउन इंग्ल्याण्डले रक्षात्मक रणनीति अपनाउँदै डेक्लान राइस र एन्थोनी गोर्डन जस्ता खेलाडीलाई बाहिर निकालेर रक्षापंक्ति मजबुत पार्ने प्रयास गरेको थियो। तर, खेलको ८५ औँ मिनेटमा कप्तान लियोनल मेस्सीको जादुमयी पासमा इन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा ल्याए।
अर्जेन्टिनाको दबाब यतिमै रोकिएन; इन्जुरी समयको दोस्रो मिनेटमा मेस्सीकै अर्को सटिक पासलाई सदुपयोग गर्दै वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका लाउटारो मार्टिनेजले गोल गरेपछि एटलान्टा स्टेडियममा इंग्लिस समर्थकहरू स्तब्ध बने।
अब केही मिनेट मात्र बाँकी रहेको यस खेलमा अर्जेन्टिनाले आफ्नो अग्रता कायम राख्न सकेमा न्युयोर्कमा हुने फाइनलमा स्पेनको सामना गर्नेछ।