
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने विभिन्न प्रकारका सामानहरूमा ५० प्रतिशत भन्सार महसुल (ट्यारिफ) लगाउने घोषणा गरेका छन्।
अमेरिकी गाडी, दुग्धजन्य पदार्थ (डेयरी उत्पादन) र रक्सीमाथि क्यानडाले गरिरहेको 'असमान व्यवहार'को जवाफमा यो कदम चालिएको ट्रम्पले बताएका छन्।
अमेरिकी प्रशासनका अनुसार यो नयाँ भन्सार महसुल ३० दिनभित्र लागु हुनेछ। यो निर्णयपछि दुई देशबिचको व्यापारिक तनाव अझ बढ्ने आशंक व्यक्त गरिएको बीबीसीले जनाएको छ ।
यस ट्यारिफको दायरामा दैनिक उपभोग्यका धेरै वस्तुहरू समेटिएका छन्, जसमा वाइन, हक्की स्टिक र सिमेन्टजस्ता उत्पादनहरू समावेश छन्। यद्यपि, ऊर्जा, पोटास, महत्त्वपूर्ण खनिज र माछा जस्ता क्यानडाका प्रमुख निर्यातहरूलाई भने यस ट्यारिफबाट बाहिर राखिएको छ।
अर्कोतर्फ, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आफ्नो सरकार आउने हप्ताहरूमा अमेरिकासँगको व्यापार वार्तालाई अझ तीव्र बनाउन तयार रहेको बताएका छन्। उनले सामाजिक सञ्जाल 'एक्स'मार्फत बयान जारी गर्दै अमेरिकी निर्णयलाई 'एकतर्फी व्यापारिक कदम'को संज्ञा दिएका छन्।
प्रधानमन्त्री कार्नीले अमेरिकाले 'क्यानडा-अमेरिका-मेक्सिको सम्झौता'को उल्लङ्घन गर्दै विभिन्न ट्यारिफहरू लगाएपछि यस्ता कदमहरूको सुरुवात भएको बताएका छन्।