३२ असार २०८३, बिहीबार

चितवनमा एक वर्षमै ३६ गैँडा मरे

चितवनमा एक वर्षमै ३६ गैँडा मरे
फाइल तस्वीर।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन्, जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पछिल्लोपटक मेघौली रेञ्जपोष्ट नजिकै अन्दाजी २५ वर्षको पोथी गैँडा मृत फेला परेको छ । 

सो गैँडाको खागखुर सुरक्षित रहेको र घाउचोट नभएकाले प्राकृतिक कारणले मरेको हुन सक्ने निकुञ्जको अनुमान छ । चालु आर्थिक वर्षमा मरेका दुई गैँडामध्ये एउटाको खागखुर शिकारीले लगेका थिए भने अर्को एकको खागखुर सुरक्षित रहेको थियो । 

बाँकी ३४ गैँडा प्राकृतिक कारणबाट मरेका हुन् । तीमध्ये झण्डै आधा जुधेर मरेको तिवारीले बताए । गैँडा बुढो भएर, दलदलमा फसेर, बाघको आक्रमणमा परेर, खाडलमा परेर मरेका हुन् । 

गत आर्थिक वर्षमा ३३ वटा गैँडा प्राकृतिक कारणबाट मरेका थिए । केही वर्षअघि एकै वर्ष प्राकृतिक कारणबाट ४४ गैँडा मरेका थिए । त्यो नै हालसम्मको प्राकृतिक कारणबाट मरेका सबैभन्दा ठूलो संख्या हो । गैँडाको संख्या बढेसँगै मृत्युदर बढ्दै गएको छ । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले प्राकृतिक कारणबाट मृत्युदर घटाउन सक्ने जति प्रयास भइरहेको बताए । 

एकै ठाउँमा धेरै गैँडा नहोस् भन्नका लागि निकुञ्जले आन्तरिक स्थानान्तरणको योजना बनाएको छ । यससँगै बासस्थान व्यवस्थापनमा जोड दिएको छ । 

नमूना घाँसेमैदान निर्माणका लागि प्रस्ताव गरिएको उनले जानकारी दिए । गैँडा एकै ठाउँमा धेरै रहँदा जुधेर मर्ने क्रम बढेपछि फरक–फरक ठाउँमा व्यवस्थित घाँसेमैदान र पानीको स्रोत व्यवस्थापनमा निकुञ्ज जुटेको छ । 

salt training

कमेन्ट गर्नुहोस्