
बागलुङ जिल्लाका अधिकांश खानेपानीका मुहानमा ‘कोलिफर्म’ कीटाणु फेला परेको छ ।
स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा गरेको पानीका मुहान परीक्षणका क्रममा जिल्लाभरका ८४ खानेपानीका मुहानमध्ये अधिकांशमा ‘कोलिफर्म’ फेला परेको हो ।
बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले वितरण गरिरहेको खानेपानीको मुहानदेखि जिल्लाका अधिकांश मुहानमा ‘कोलिफर्म’ भेटिएको कार्यालयले जनाएको छ ।
नगरमा वितरित पानीका धारामा भने ‘कोलिफर्म’को मात्रा शून्य छ । ट्यांकीमा पानीको उपचारका लागि क्लोरिन पाउडरको प्रयोग हुने भएकाले धारामा ‘कोलिफर्म’ नदेखिएको स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक डिल्ली आचार्यले बताए ।