१० असार २०८३, बुधबार

आयमूलक कार्यक्रमलाई जोड दिँदै बन्दिपुर गाउँपालिका

आयमूलक कार्यक्रमलाई जोड दिँदै बन्दिपुर गाउँपालिका

तनहुँको बन्दिपुर गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका वासिन्दालाई लक्षित गरी आर्थिक आयआर्जनमूलक कार्यक्रमलाई जोड दिँदै आएको छ ।

गाउँगाउँका महिलालाई सीपमूलक तालिम प्रदान गरेर आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले सीपमूलक तालिमलाई प्राथामिकता दिएको हो । 

गाउँपालिकाले महिलाहरूका लागि सिलाइकटाई गर्न मशिन, सालको पातको टपरी र चप्पल उद्योग सञ्चालनका लागि केही दिनअघि तालिम प्रदान गरिसकेको छ ।

बन्दिपुर–६ धरमपानीमा चप्पल उद्योग सञ्चालनमा ल्याउने तयारीका साथ तालिम प्रदान गरिसकेको गाउँपालिकाले जनाएको छ । वडास्थित धरामपानी महिला उद्यमी समूहलाई तालिम प्रदान गरी चप्पल उत्पादन गर्न लागेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।

गण्डकी प्रदेश सरकारको गरीबी निवारण उद्यमी विकास कार्यक्रमअन्तर्गत २ लाख १३  हजार ५०० रुपैयाँमा मशिन खरिद गरी स्थानीय १२ जनालाई तालिम प्रदान गरिसकिएको जनाइएको छ ।   

तालिमबाट सिकेका सीप तथा जनशक्तिलाई परिचालन गरी चप्पल उत्पादन गरी बिक्री वितरण गर्ने लक्ष्य राखिएको छ । तालिमपश्चात् सालको पातको टपरी र चप्पल उत्पादन गरेर पालिकास्तरमै खपत गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए ।

बन्दिपुर–५ स्थित याम्पा महिला उद्यमी समूहलाई ४ वटा सिलाइकटाइ मेशिन प्रदान गरेर आयआर्जनतर्फ सक्रिय बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जानकारी दिए ।

गाउँपालिका कार्यालयले बन्दिपुर बजार क्षेत्रमा पेपर प्लेट विस्थापित गरी सालको पातको टपरी प्रयोगमा ल्याउने गरी काम अघि बढाइएको छ । टपरी बनाउनका लागि स्थानीय १२ जनालाई तालिम प्रदान गरिसकेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्