बेलायतका सेनाप्रमुख जनरल प्याट्रिक स्यान्डर्सले युक्रेन युद्धमा रुसले लडेको स्थलयुद्धको प्रशंसा गरेका छन् ।
युक्रेनविरुद्ध युद्ध शुरू गरेकोमा रुसको आलोचना गरेका स्यान्डर्सले भूमिमा गरिने युद्ध नै निर्णायक हुने र रुस त्यसमा अब्बल देखिएको बताए । आकाश, जल वा साइबर युद्धभन्दा अगाडि स्थलयुद्ध महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।
बेलायतको अग्रणी थिंकट्यांक रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युटले अघिल्लो मंगलवार अर्थात् जेठ १४ गते आयोजना गरेको स्थलयुद्ध सम्मेलनलाई सम्बोधन गर्दै स्यान्डर्सले यो कुरा बताएका हुन् ।
रुसले युक्रेनी सैनिकको फर्मेसन, सैन्य अड्डा र रक्षा उद्योग संरचनाहरूमाथि लामो दूरीको क्रुज क्षेप्यास्त्र आक्रमण अत्यधिक संख्यामा गरेको छ । युक्रेनी सैनिकको लडाइँ गर्ने तथा हातहतियार पुनः ल्याउने क्षमता नष्ट गर्न रुसले यस्तो कारवाही चलाएको हो ।
रुसको यो कदम सफल रह्यो किनकि युक्रेनी सैनिकहरूले आफ्ना सबै गोलीगट्ठा सकिएको र सोभियतकालीन आर्टिलरी बन्दूकहरू पनि नष्ट भएको स्वीकार गरे ।
त्यससँगै रुसका लगभग एक लाख ५० हजार सैनिकहरूले युक्रेनी भूमिमा पसेर आक्रमण गरेका थिए ।
रुसले आफ्ना भएभरका सैनिक उतारेर छिटो युद्ध जित्न खोजेको थिएन । सुस्त किसिमको प्रगतिमा उसको जोड छ । महाशक्ति राष्ट्रविरुद्धको युद्ध नभएकाले रुसले यस्तो उपाय अपनाएको हो ।
तर नेटोसँग युद्धको स्थिति आएछ भने रुसले एयरोस्पेस सैन्यशक्ति समेत उपयोग गर्न सक्छ । त्यसलाई कम नआँके पनि बेलायती सेनाप्रमुखले जमीनमा लडिने लडाइँ नै महत्त्वपूर्ण हुने बताए ।
उनले बेमनले भए पनि रुसको युद्धकलाको प्रशंसा गरे । ‘रुसले अल्पकालीन नभई दीर्घकालीन रणनीति लगाएर युद्ध गर्छ । उसको सैन्यशक्ति गहन तथा उत्थानशील भएकाले जतिवटा लडाइँ लडे पनि अन्तिममा ऊ नै विजयी हुन्छ,’ स्यान्डर्सले बताए ।
‘युक्रेन युद्धले हामीलाई स्थल शक्तिका बारेमा स्मरण गराउँछ । कुनै पनि भूभागमा नियन्त्रण कायम गर्न तथा त्यसलाई पुनः प्राप्त गर्न र जनताको प्रतिरक्षा गर्न ठूलो स्थलसेना चाहिन्छ । शत्रुलाई निवारण गर्नका लागि स्थल सेना नै चाहिन्छ । वायु, जल वा साइबर सेना मात्रले युद्धमा प्रभुत्व कायम गर्न सकिन्न । स्थल नै युद्धको सबभन्दा बलियो क्षेत्र हो,’ उनले बताए ।
उनले त्यसपछि निकै चोटिलो कुरा गरे । भने, ‘तपाईं नदी तर्नका लागि साइबरशक्ति प्रयोग गर्न सक्नुहुन्न । एउटा मात्र प्ल्याटफर्म, क्षमता वा रणनीतिले समस्या समाधान गर्न सकिँदैन ।’