नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाल–भारत सीमामा काँडेतार लगाउन प्रस्ताव गरेको भन्ने विषयमा संसदमा कुरा उठेको छ । सोमवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा नेकपा माओवादी केन्द्रका सांसद सुरेशचन्द्र दासले यो विषय राजनीतिक स्तरमा हुनुपर्ने निर्णय भन्दै विरोध गरेका हुन् ।
‘एउटा सेमिनारमा आर्मी चिफले सीमामा काँडेतार लगाउनु पर्छ भन्ने कुरा गरेको सुनियो । यो अभिव्यक्ति राजनीतिकस्तरमा गर्ने हो, सेनाले गर्ने होइन’ सिराहाबाट चुनाव जितेका माओवादी सांसदले भने ।
प्रधानसेनापति शर्माले सुरक्षासम्बन्धी एक सेमिनारमा नेपाल–भारत सीमामा काँडेतार लगाउनु पर्छ भनेर अभिव्यक्ति दिएको विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो । नेपाली सेनाले भने प्रधानसेनापतिको आशय त्यस्तो नभएको भन्दै सो समाचारको खण्डन गरेको छ ।
सांसद दासले नेपाल प्रहरीको लागि हतियार खरिद गर्न रकमान्तर गरिएको विषयप्रति पनि विरोध जनाए ।