अमेरिकाका एक आप्रवासन परामर्शदाता राफेल सिन्ट्रोनले अस्ट्रेलिया बस्नका लागि योग्य ठाउँ नभएको र त्यो देश पतनको बाटोमा गइरहेको बताएका छन् ।
वेल्दी एक्सप्याट नामक आप्रवासन कम्पनीका सीईओ सिन्ट्रोनले यसै साता टिकटकमा एउटा भिडियो पोस्ट गरेर अस्ट्रेलियाको खोइरो खनेका हुन् ।
दुबईमा बस्ने सिन्ट्रोनले भिडियोको शुरूआतमै भन्छन्, ‘अस्ट्रेलिया बस्नका लागि खराब ठाउँ हो । उच्च कर र कोभिड नियमावलिका कारण अस्ट्रेलिया पतनको बाटोमा गइरहेको छ र धेरै मानिस त्यो देश छोडेर भागिरहेका छन् ।’
डेली मेल अस्ट्रेलियासँग कुरा गर्दै सिन्ट्रोनले अस्ट्रेलिया महान र समृद्ध मुलुक भए पनि धेरै नागरिक सरकारसँग असन्तुष्ट रहेको बताए ।
‘सरकारले कोभिड संकट व्यवस्थापनमा अपनाएको दृष्टिकोणबाट हाम्रा अस्ट्रेलियाली ग्राहकहरू चरम निराश भएका थिए,’ उनले बताए, ‘उदाहरणका लागि, कोभिड नियन्त्रण गर्ने नाममा अस्ट्रेलियाली नागरिकहरूलाई आफ्नो घर फर्किन समेत दिइएको थिएन ।’
नागरिकहरूले यसको विरोध गर्दा उनीहरूलाई कठोर सजाय र शारीरिक हिंसा गरिएको उनको भनाइ छ ।
अस्ट्रेलियामा कर पनि चर्को रहेको सिन्ट्रोनले बताए ।
उनका अनुसार, उच्च आय भएका व्यक्तिका लागि करको दर ४५ प्रतिशतभन्दा बढी छ भने औसत आय गर्नेहरूका लागि ३२.५ देखि ३७ प्रतिशत छ ।
अस्ट्रेलियाको तुलनामा स्विट्जल्यान्ड, सिंगापुर, युनाइटेड अरब इमिरेट्स र पोर्चुगल सुरक्षित तथा कम कर भएका मुलुक हुन् ।
तर अस्ट्रेलियालीहरूले सिन्ट्रोनको आलोचना गर्र्दै आफ्नो देशको प्रतिरक्षा गरेका छन् ।
आफूहरूकहाँ उच्च ज्यालादर, सर्वसुलभ स्वास्थ्य सेवा, बन्दूकमा नियन्त्रण, गजबको मौसम र आनन्द नागरिकहरू रहेको उनीहरूको टिप्पणी छ ।