
लगातारको वर्षासँगै दोलखाको जिरी नगरपालिकाको ४१ घर पहिरोको उच्च जोखिममा परेका छन् ।
जिरी नगरपालिकामा बुधवारदेखि निरन्तर भारी वर्षासँगै विभिन्न ठाउँमा पहिरो जाँदा जोखिम बढेको हो ।
जिरी नगरपालिका–६ हाटडाँडा बजार क्षेत्रमा वर्षासँगै बुधवार दिउँसो पहिरो जाँदा १४ घरपरिवार विस्थापित भएका नगरपालिकाका प्रमुख मित्र जिरेलले बताए ।
पहिरोले घर बगाउने जोखिम बढेपछि विस्थापित परिवार स्थानीय आफन्त तथा छिमेकीको घरमा आश्रय दिएर बसेका छन् । विस्थापित भएका परिवारलाई तत्कालका लागि जिरी नगरपालिकाले त्रिपाल र खाद्यान्नका सामग्री वितरण गरिएको नगर प्रमुख जिरेलले बताए ।
हाटडाँडामा गएको पहिरोका कारण १४ घरपरिवार विस्थापित भएका छन् भने पालिकाका विभिन्न क्षेत्रमा गरी ४१ घरपरिवार पहिराको जोखिममा परेका छन् । नगरपालिका खरोयो वन, कोथामेलगायत स्थानका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनले बताए ।
जिरी लगायत क्षेत्रमा लगातार वर्षा भइरहेको हुँदा पहिरोको जोखिम क्षेत्रमा बस्नका लागि सबैलाई सुरक्षित रहन प्रमुख जिरेलले आग्रह गरेका छन् ।
जिल्लाको मेलुङ गाउँपालिकामा पनि पहिराको उच्च जोखिम बढेको छ । मेलुङ गाउँपालिका–७ जोगीगाउँ, थामी बस्ती, मगर गाउँलगायत स्थान पहिरोको उच्च जोखिममा रहेको वडाध्यक्ष नवराज खड्काले बताए ।
मेलुङ–७ मा बुधवार राति पहिरोका कारण २ घरमा क्षति पुगेको छ । वडामा पहिरोका कारण हालसम्म ११ घरमा आंशिक क्षति पुर्याएको र २३ घर उच्च जोखिममा रहेको वडाध्यक्ष खड्काले बताए ।