
स्याङ्जाको गल्याङ नगरपालिकाले दूधको उत्पादनका आधारमा प्रतिलिटर १५ रुपैयाँका दरले किसानलाई ४६ लाख ९९ हजार अनुदान दिएको छ ।
नगरपालिकाले गत आर्थिक वर्ष २०७८/०७९ मा मात्रै ५ लाख ७९ हजार ९३४ लिटर दूधमा प्रतिलिटर १५ रुपैयाँका दरले किसानलाई ४६ लाख ९९ हजार अनुदान दिएको गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराईले बताए ।
गल्याङ नगरपालिका भित्रका विभिन्न दूग्ध संकलन केन्द्रमा नेपाल सरकारको दूग्ध विकास संस्थानले निर्धारण गरेको मूल्यमा दूध उपलब्ध गराउने किसानलाई उत्पादनका आधारमा प्रोत्साहन स्वरूप प्रतिलिटर १५ रुपैयाँ उपलब्ध गराउने निर्णयअनुसार गत आवमा सो बराबरको रकम दिइएको उनले बताए ।
‘सामूहिक वा व्यक्तिगतरूपमा दूध उत्पादन गर्नतर्फ किसानलाई आकर्षित गराउनका लागि प्रोत्साहनस्वरूप प्रतिलिटर दूधमा १५ रुपैयाँ अनुदानको व्यवस्था गरेका छौं,’ उनले भने, ‘उत्पादित दूध तथा दूग्धजन्य पदार्थको बजारीकरणको जिम्मा पनि नगरपालिकाले लिनेछ, उत्पादित दूध बिक्री हुँदैन कि भन्ने चिन्ता नलिनुहोस् ।’
नगरपालिकाले चालू आव २०७९/०८० का लागि पनि दूध उत्पादनका आधारमा अनुदान कार्यक्रमलाई निरन्तरता दिँदै १ करोड विनियोजन गरेको उनले बताए । नगरपालिकाले किसानलाई उत्पादनका आधारमा अनुदान रकम उपलब्ध गराउँदै आएको नगर उपप्रमुख हेमा न्यौपानेले बताइन् । दूध उत्पादन तथा दूग्धजन्य पदार्थको उत्पादनमा जोड दिइएको र उत्पादित दूध तथा दूग्धजन्य पदार्थको बिक्री वितरणको जिम्मा नगरपालिकाले लिएकाले पनि यहाँका पशुपालक किसान उत्साहित भएर अगाडि बढेका उपप्रमुख न्यौपानेको भनाइ थियो ।