१२ असार २०८३, शुक्रबार

काभ्रेमा ३ वर्षपछि डेंगु संक्रमण, स्वास्थ्यकर्मी ‘हाइअलर्ट’

काभ्रेमा ३ वर्षपछि डेंगु संक्रमण, स्वास्थ्यकर्मी ‘हाइअलर्ट’
प्रतिकात्मक तस्वीर

काभ्रे जिल्लामा ३ वर्षपछि तीन स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको संक्रमण देखिएको छ ।

२ हप्ताअघि पाँचखालमा देखिएको डेंगुको संक्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको हो । 

पनौती नगरपालिका–५ सुब्बागाउँका एक ६८ वर्षका पुरुष डेंगुको संक्रमणका कारण धुलिखेल अस्पतालमा २ दिनदेखि उपचारत छन् । पनौती नगरका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाका अनुसार संक्रमित ती पुरुषको स्वास्थ्य अवस्था उपचार शुरू गरिएपछि सुधारोन्मुख रहेको छ ।

उनले जिल्ला स्वास्थ्य कार्यालय र नगर स्वास्थ्यको टीमले संयुक्तरूपमा सोमवार पनौतीमा भएको संक्रमणको स्रोतबारे स्थानीयस्तरमा अनुगमन गर्ने बताए । ‘हाम्रो टीमले रोगको स्रोतको ‘सर्च एण्ड डिस्ट्रोय’ गर्नेछ,’ उनले भने । 

केही दिनअघि सदरमुकाम धुलिखेलमा पनि एक पुरुषमा डेंगु रोगको संक्रमण देखिएपछि उनलाई निगरानीमा राखी उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । ‘धुलिखेल लगायतको स्थानका डेंगु रोगको संक्रमणको केशमा निकै गम्भीरतापूर्वक अनुसन्धान गर्नेछौं,’ कार्यालय प्रमुख डा. पुरुषोत्तम सेढाईंले भने । उनका अनुसार पाँचखालमा २ हप्ताअघि भेटिएका डेंगु संक्रमित जिल्ला बाहिरका हुन् । 

ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेंगु रोगको संक्रमण भेटिएको थियो । पाँखालमा भेटिएका संक्रमितको काठमाडौंमा उपचार भइरहेको सेढाईंले बताए ।

लामो समयपछि पाँचखालमा पहिलो डेंगु रोगको संक्रमण देखिएलगत्तै यसका लक्षण तथा बच्ने उपायबारे प्रचारप्रसारमा लागिएको तथा स्वास्थ्यकर्मीलाई ‘हाइअलर्ट’मा बस्न भनिएको सेढाईंले बताए । उनका अनुसार डेंगु रोगको संक्रमणले महामारीको रूप नलियोस् भन्ने उद्देश्यले काभ्रेपलाञ्चोकको तीनै स्थानमा जिल्ला स्वास्थ्य कार्यलयको ‘र्‍यापिड टीम’ले अनुगमन तथा सम्भावित परीक्षण गरिने छ ।

salt training

कमेन्ट गर्नुहोस्