
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको सवारी पार्किङलाई व्यवस्थित बनाउन अन्डरग्राउण्ड पार्किङभित्र रहेको डिस्को, सोरुम, क्यान्टिन, पसल, राहदानी वितरण, गोदामलगायत हटाउने भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी काठमाडौँ उपत्यकाको सवारी आवागमनलाई सुरक्षित, मर्यादित, व्यवस्थित र प्रविधियुक्त बनाउनका लागि सरोकारवाला निकायको सहयोगमा अन्डरग्राउण्डभित्रका संरचना हटाउन लागेको बताएको हो ।
पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जिव शर्मा दासले सवारी पार्किङ गर्ने अन्डरग्राउण्ड पार्किङभित्र डिस्को, सोरुम, क्यान्टिन, पसल, राहदानी वितरण, गोदामलगायत संरचना बनाउन उपत्यकाको ट्राफिक व्यवस्थापनमा असहजता आएको बताए ।
ट्राफिक प्रहरीले फुटपाथ व्यवस्थापन, ट्राफिक प्रहरीको व्यवहार तथा आचरण सुधारका लागि ट्राफिक प्रहरीलाई अनुशासनसम्बन्धी कक्षा, काठमाडौँ उपत्यकाभित्र भत्किएका खाल्डाखुल्डी मर्मत सम्भारका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने, लेन अनुशासनलाई कडाइ गरिने तथा हर्न निषेधलाई थप कडाइ गर्ने प्रवक्ता दासले बताए। पत्रकार सम्मेलनमा कार्यालय प्रमुख, प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले चक्रपथ वरपर जथाभावी रूपमा पार्किङ भएका सवारी साधनलाई सम्बन्धित निकायको सहकार्यमा व्यवस्थित गरिने बताइन् ।