सामाजिक सञ्जाल फेसबुक तालिबानविरोधी नीतिमा दृढ देखिएको छ । फेसबुकले अफगानिस्तानका तालिबान नियन्त्रित राष्ट्रिय टेलिभिजन र बख्तर न्यूज एजेन्सीका पृष्ठहरू निलम्बन गरी तालिबानविरोधी आफ्नो नीतिलाई पुष्टि गरेको हो ।
“अफगानिस्तान नेशनल टेलिभिजन र बख्तर न्यूज एजेन्सीका पृष्ठहरूले अब फेसबुकमा पहुँच पाउने छैनन्,” अफगानी खामा प्रेसले आफ्नो समाचारमा लेखेको छ ।
समाचारमा लेखिएको छ, “तालिबानले सत्तारोहणसँगै अफगानिस्तान राष्ट्रिय टेलिभिजनको सञ्चार केन्द्रको नियन्त्रण जफत गरेदेखि उनीहरूले यसको प्रयोग गरी आफ्नो पक्षमा व्यापक गतिविधिहरू सञ्चालन गरेका थिए । तथापि, यस केन्द्र र बख्तर समाचार एजेन्सीका पृष्ठहरू हाल पहुँच योग्य छैनन् ।”
अफगानिस्तान नेशनल टेलिभिजनका प्रमुख अहमदुल्ला वासिकका अनुसार फेसबुकले यी सञ्चारमाध्यमले चलाएका पश्तो र दरी पेजमा प्रतिबन्ध लगाएको छ ।
“फेसबुक विश्वभर सबैभन्दा धेरै प्रयोग हुने सामाजिक सञ्जाल ‘साइट’ हरूमध्ये एक हो र यो २०२१ को मध्यमा तालिबानलाई आतंकवादी संगठनको रूपमा नामाकरण गर्ने पहिलो संस्था थियो, अफगानी समाचार संस्था खामा प्रेसले बताएको छ ।
फेसबुकको प्लेटफर्मले तालिबानलाई ‘आतंकवादी संगठन’को रूपमा मान्यता दिन्छ र आफ्नो प्लेटफर्ममा यस संगठनद्वारा सिर्जना गरिएको वा समर्थन गर्ने कुनै पनि सामग्रीको प्रकाशनमा प्रतिबन्ध लगाएको छ,” विशेष स्रोतलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ ।
खासगरी सामाजिक सञ्जाल स्थलमा युद्धग्रस्त अफगानिस्तानका तालिबान नियन्त्रित सरकारी निकायका पानाहरू यसअघि पनि फेसबुकले बन्द गरेको थियो ।
फेसबुकका एक प्रवक्ताका अनुसार फेसबुकले आफ्नो सबै प्लेटफर्ममा तालिवान विरोधी नीति लागू गरेको छ । यसका साथै फेसबुक आफैं, इन्स्टाग्राम र ह्वाट्सएपले पनि यो नीति लागू गरेको छ ।
तालिबानका अधिकारी तथा प्रवक्ताहरू ट्वीटरमा पनि सक्रिय छन् । अफगानिस्तानमा तालिबान समूह सत्तामा आएपछि विशेष गरी महिला, किशोरकिशोरीसहित हजारौं पत्रकार तथा सञ्चारकर्मीहरू रोजगारीबाट बञ्चित भएका छन् ।