१२ असार २०८३, शुक्रबार

तनहुँका ५६ वडा बाढीपहिराको जोखिममा

तनहुँका ५६ वडा बाढीपहिराको जोखिममा
फाइल तस्बिर

तनहुँ जिल्लाका ५६ वडा बाढी पहिराेको जोखिममा रहेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार १० स्थानीय तहका ५६ वडा बाढी र पहिराेको जोखिममा रहेको देखिएको हो । 

उक्त समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले वर्षातका समयमा जिल्लामा पर्नसक्ने बाढीऔपहिरोलगायत जोखिम न्यूनीकरण तथा पूर्वतयारीका लागि कार्ययोजना बनाइएको जानकारी दिए ।

योजना कार्यान्वयनका लागि जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला समन्वय समिति, स्थानीय तहमा गठित विपद् व्यवस्थापन समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । 

व्यास, भानु, भिमाद र शुक्लागण्डकी नगरपालिकाका केही वडा बाढी तथा पहिरोको जोखिममा परेको छ । त्यस्तै, देवघाट, बन्दीपुर, घिरिङ, ऋषिङ, आँबुखैरेनी र म्याग्दे गाउँपालिकाका वडाहरू पनि जोखिममा रहेको कार्यदलले ठहर गरेको छ । 

विपद्को समयमा खोज तथा उद्धार एवं आपत्कालीन सुरक्षा र राहत वितरण कार्यका लागि टोली तयार अवस्थामा राखिएको छ । नेपाली सेनाको चापाघाटस्थित कालीभञ्जन गण (इ) बाट सेना, जिल्ला प्रहरी कार्यालय तनहुँबाट २५ प्रहरी, सशस्त्र प्रहरी बल नेपालबाट विपद् व्यवस्थापनमा विशेष तालिमप्राप्त ५५ सुरक्षाकर्मी तयार गरिएको छ ।

विपद्का समयमा खोज तथा उद्धार, सुरक्षित स्थानान्तरण एवं आपत्कालीन राहत सहयोगका लागि विभिन्न संघसंस्थाबाट भौतिक स्रोतसाधन पनि तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्