०९ साउन २०८३, शनिबार

देउवाको ज्योतिषीः रविको भाग्य !

देउवाको ज्योतिषीः रविको भाग्य !

स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको दिन नेपाली कांग्रेसका लागि कुसाइत पार्ने बताएका छन् । पोखरामा शनिवार भएको भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनको दिन स्वतन्त्र पार्टीको भाग्य चम्किने उद्घोष गरेका हुन् । 

उनले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै साइत हेराएर निर्वाचन गराए पनि यो निर्वाचनबाट आफूहरूको भाग्य चम्किने दाबी गरेका हुन् । ‘उहाँले यसपटक पनि ज्योतिषीलाई देखाएर नै निर्वाचन घोषणा गर्नुहुनेछ, साइत जुराएर नै चुनावको मिति सार्वजनिक गर्नुहुनेछ,’ उनले भने, ‘तर, यसपटक ज्योतिषी उहाँको हुनेछ, भाग्य र भविष्य हाम्रो हुने छ ।’ 

उनले सबै ग्रहले स्वतन्त्र पार्टी एवं  देशको भाग्य र भविष्य बदलिने बताउँदै भने, ‘मैले सबैको आँखामा आशाको दियो देखिरहेको छु, त्यो आशाको दियो निभ्न नदिनुहोला, हुरी आउनसक्छ, आँधी आउनसक्छ ।’

कांग्रेस सभापति देउवा ज्योतिष विद्यामा निकै विश्वास गर्छन् । उनले कुनै महत्वपूर्ण निर्णय गर्नुपूर्व ज्योतिषीको सल्लाह लिने गरेको चर्चा चल्ने गर्दछ । उनले ज्योतिषीको सल्लाहमै आगामी निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेका छन् । 
यसअघि २०७४ सालको निर्वाचनमा ज्योतिषीले आफूलाई ७ पटक प्रधानमन्त्री हुन्छौ भनेको बताएका थिए । उक्त अभिव्यक्तिको निकै चर्चा भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्