
साउथ इण्डियन चलचित्र ‘पुष्पा–द राइज’ बक्स अफिसमा आक्रामक व्यापार गर्न सफल चलचित्र हो ।
गत वर्ष सार्वजनिक भएको सो चलचित्रको आजसम्म पनि उत्तिकै चर्चा छ ।
पुष्पा बनेका अल्लु अर्जुनको लुक्स र डायलग त यतिखेरसम्म पनि चर्चामा छ ।
सोही चर्चा र क्रेजलाई ध्यानमा राख्दै चलचित्र निर्माताले पुष्पा २ को घोषणा गरेको केही समय भइसकेको छ ।
पुष्पा २ मा अल्लु अर्जुनलाई नै दोहोर्याइएको छ ।
‘पुष्पा–द राइज’ पछि निर्माताले ‘पुष्पा– द रुल’ बनाउँदैछन् ।
चलचित्रलाई पहिलो पुष्पाभन्दा निकै नै राम्रो बनाइएको निर्माता टिमको दाबी छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार, पुष्पा २ मा अभिनेता विजय सेतुपतिले पनि महत्वपूर्ण भूमिका निभाएको बताइएको छ ।
साथै अल्लु अर्जुनको साथ फहाद फाजिल र रश्मिका मन्दाना नै कायम रहेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार यस यस चलचित्रको बजेट ३५० करोड भारतीय रुपैयाँ हुने अनुमान गरिएको थियो ।
निर्माता एक वाई. रवि शंकरले पुष्पा २ को बजेट योभन्दा धेरै हुने बताएका छन् ।
उनले यस चलचित्रको बजेट ५०० करोड भारतीय रुपैयाँ हुने बताएका छन् ।
यो चलचित्र १० भाषामा सार्वजनिक गर्ने योजना रहेको समेत उनले बताएका छन् ।
चलचित्र २०२३ को अगष्ट महिनामा रिलिज गर्ने गरी तयारी भएको बताइएको छ ।
यसअघि २०२२ को डिसेम्बरमा चलचित्र हलमा ल्याइने बताइएको थियो ।