०७ असार २०८३, आइतबार

पनौतीमा प्याराग्लाइडिङ सञ्चालनको अनुमति

पनौतीमा प्याराग्लाइडिङ सञ्चालनको अनुमति
फाइल तस्बिर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको छ । स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिले व्यवसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति प्राप्त गरेको हो । उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको काम भइरहेको जनाइएको छ । 

प्राधिकरणबाट सञ्चालन निर्देशन जारी भएपछि व्यावसायिक उडान गर्ने तयारी गरिने प्रालिका अध्यक्ष छविलाल हुमागाइँले बताए । ‘मन्त्रालयबाट शुक्रवार व्यवसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति पायौँ, प्राधिकरणले प्राविधिक प्रक्रियाको काम सकेर सञ्चालन निर्देशन जारी भएलगत्तै व्यावसायिक रूपमा सञ्चालन गर्नछौँ’, उनले भने । 

सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका कारण २६ वर्षदेखि त्यहाँ सञ्चालित प्याराग्लाइडिङ व्यवसाय अन्योलमा परिरहेका बेला मन्त्रालयले पनौती नगरको कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडानको अनुमित दिएको हो । कुशादेवी क्षेत्र तीन वर्षअघि विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा गुदूम डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो । त्यसबेला १५ प्याराग्लाइडिङद्वारा तीन दिन परीक्षण उडान गरिएको थियो । अन्य दुई समयमा पनि परीक्षण भइसकेको थियो । 

उडान भर्ने स्थान, ल्यान्डिङ, हावाको चाप तथा अन्य वातावरण अनुकूल भएकाले हाल अनुमति पाएको जनाइएको छ । प्याराग्लाइडिङ सञ्चालनका सबै प्रक्रिया पूरा गर्न दुई महिना लाग्ने भएकाले सम्भवतः आउँदो असोजदेखि व्यावसायिक उडान भर्ने योजना बनाइएको हुमागाइँले बताउनुभयो । उहाँका अनुसार दैनिक १० प्याराग्लाइडिङले बिहान १० बजेदेखि अपरान्ह चार बजेसम्म उडान अनुमति पाएको हो । तोकिएको समयमा छ हजार ५०० फिट उचाइसम्म ‘भिजिबीलिटी’ रहने जनाइएको छ । रासस
 

कमेन्ट गर्नुहोस्