
भक्तपुरको चाँगुनारायण नगरपालिका– ५ की १८ वर्षीय निशा निगल घाइते अवस्थामा भक्तपुरको इवामुरा अस्पतालमा उपचाररत छिन् ।
उनको खुट्टा फ्याक्चर भएर प्लास्टर गरिएको छ भने हातमा लतपतिएको रगत देख्न सकिन्छ । सुकिसकेको रगत एक नर्सले सफा गरिरहेकी थिइन् ।
दुखाइ कम भएको छैन, उनी बेलाबेलामा चिच्याउँछिन्, रुन्छिन् पनि ।
‘ट्युसन क्लास’ सकेर बागबजारबाट घर फर्किँदै गरेकी उनी भक्तपुरको सल्लाघारीमा निकै त्रासदीपूर्ण दुर्घटनाको शिकार बनिन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजु पाण्डेका अनुसार बिहान सवा १२ बजे भक्तपुर नगरपालिका– १ सल्लाघारीको चोगाँ गणेशमा सल्लाको रुख ढल्दा बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कूटरलाई किचेको थियो । दुर्घटनामा ३ जनाले ज्यान गुमाएका छन् ।
बसमा सवार निगल घाइते भएपछि उनलाई उद्धार गरी अस्पताल पुर्याइएको हो । दुर्घटनामा परी बेहोश भएकी उनी होश आउँदा अस्पतालको बेडमा थिइन् ।
‘बिहान अतिरिक्त कक्षा लिएर काठमाडौंबाट भक्तपुर आउँदै थिएँ । बसमा निदाएको जस्तो लाग्छ, बिउँझिँदा अस्पतालको बेडमा रहेको पाएँ,’ घाइते निगलले भनिन्, ‘के भयो भन्ने अहिलेसम्म सम्झिन सकेकी छैन ।’
......
भक्तपुरको कमलविनायकका १८ वर्षीय ऋतिक बासुकला पनि इवामुरा अस्पतालको बेडमा छन् । उनको शरीरभरी चोट लागेको छ, छातिमा पट्टी बाँधिएको छ ।

काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेका उनी बसको अन्तिम सिटमा बसेका थिए । एक्कासि झट्का लागेजस्तो हुँदा बेहोश भएको र होश आउँदा आफूलाई अस्पतालमा पाएको उनले बताए ।
‘म अर्धबेहोश जस्तो भएछु । कताकता लासहरू तानिराखेको देखेको अलिअलि याद आउँछ । त्यसपछि ब्युझिँदा अस्पतालको इमरजेन्सीमा थिएँ,’ बासुकलाले लोकान्तरसँग भने ।
......
बसका सह–चलाक सर्लाहीका नवराज वाइबाले एक्कासि अगाडि रुख आएको थाहा पाए ।
त्यसपछि उनी जसोतसो बाहिर निस्किँदा चालक होमबहादुर थापा मगरको खुट्टा गाडीले च्यापिराखेको थियो । उनलाई तानेर निकाले । खुट्टाको अवस्था के थियो थाहा पाएनन् ।
चालक मगरले 'गाडीभित्र बिलबूक र मोबाइल होला, लिएर साहुलाई फोन गर्नू' भनी अह्राए । तर उनले केही पनि भेट्टाएनन् । फोन र बिलबूक लिन जाँदा गाडीभरी रगतैरगत देखे ।
‘गाडीभित्र रगत नै रगत थियो । अरू के–के थियो अत्तोपत्तो पाइनँ,’ सहचालक वाइबाले लोकान्तरसँग भने, ‘त्यसपछि अरू गाडीका ड्राइभरहरू आएर भित्रका मान्छे निकाल्न थाल्नुभयो ।’

स्थानीयवासीका अनुसार हिजो त्यही ठाउँमा अर्को रुख ढलेको थियो । त्यसले कुनै मानवीय तथा भौतिक क्षति गरेन ।
तर, आज परेको पानीका कारण अर्को रुख ढलेर ठूलो क्षति पुर्याएको छ । बस र स्कूटर सँगसँगै आएकाले स्कूटरमा सवार दुवै जनाको मृत्यु भएको छ भने बसमा सवार एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार भक्तपुर नगरपालिका– २ बस्ने २५ वर्षीय विशेष खर्बुजा र अन्य २ जनाको घटनास्थलमै मृत्यु भएको थियो । ती दुईजना मृतकको सनाखत हुन बाँकी छ ।
प्रहरीले सडकमा रहेको रुख, दुर्घटनामा परेका सवारी साधन हटाइसकेको छ ।

घाइतेहरूको इवमुरा अस्पताल र भक्तपुर अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।
डीएसपी पाण्डेका अनुसार अन्य १३ जनाको सामान्य घाइते भएर उपचार भइरहेको छ भने २ जनाको अवस्था गम्भीर छ ।
भिडियो हेर्नुहोस्
फोटो/भिडियो : विश्वास खनाल