
बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति संलग्न रहेको भन्ने आरोप सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले प्रहरीको फरेन्सिक ल्याबका विज्ञसँग छलफल गर्ने भएको छ ।
अर्थमन्त्रालयको सीसीटीभीबाट डिलिट भएको फुटेजबारे अध्ययन गरेको प्रहरीको फरेन्सिक ल्याबका प्राविधिकसँग समितिले मंगलवार छलफल गर्ने भएको हो ।
प्रहरीले सिलबन्दी गरेर पठाएको भिडियो हेरेपछि समितिले त्यसबारे थप छलफल गर्ने निर्णय गरेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । त्यसका लागि समितिको बैठक मंगलवार अपराह्न ४ बजे पुनः बस्दैछ ।
अहिलेसम्मको छानविनका क्रममा समितिले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति सहभागी भएको सम्बन्धमा प्रमाण फेला पार्न सकेको छैन ।
असार २२ गते गठन भएको संसदीय छानविन विशेष समितिको थपिएको कार्यावधि १२ गते बिहीवार सकिँदैछ ।
समितिमा एमालेका ४, कांग्रेस र माओवादीका दुई/दुई तथा नेकपा एकीकृत समाजवादी, जसपा र लोसपाका एक/एक सदस्य छन् ।