
नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा रहेको पृथ्वी स्मारक क्षेत्रमा नेपाली सेनामार्फत निर्माण गरिएको नयाँ संरचनाको मंगलवार उद्घाटन तथा पत्र हस्तान्तरण गरिएको छ ।
पृथ्वी स्मारक क्षेत्रमा आयोजित कार्यक्रममा नेपाली सेनाका मध्य कमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठले नेपाली सेनामार्फत निर्माण गरेको नयाँ संरचनाको उद्घाटन पश्चात पृथ्वी स्मारक संरक्षण समितिका अध्यक्ष गोविन्दलाल चित्रकारलाई पत्र हस्तान्तरण गरे ।
जबरजंग गण देवीघाटको व्यवस्थापनमा पृथ्वी स्मारकको संरक्षणका लागि पर्खाल, बार, शालिकमा रंगरोगन, विश्रामस्थल र शौचालयको निर्माण गरिएको छ ।
जबरजंग गणका प्रमुख सेनानी अरुण कार्कीका अनुसार २२ लाख ४७ हजार रुपैयाँ लगानीमा स्मारक संरक्षणका लागि अत्यावश्यक देखिएका नयाँ संरचनाको निर्माण जीर्ण भएका संरचनाको मर्मतसम्भार गरिएको हो ।
नेपाली सेनामार्फत करीब १ वर्षको अवधिमा स्मारक संरक्षणका लागि ३४० मिटरको स्टिलबार र २०५ मिटरको दायाँबायाँ फलामको बार लगाइएको छ । २०५ मिटरको स्मारक क्षेत्रको दायाँबायाँ ३ तर्फी पर्खाल बनाइएको छ ।
कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले नेपाली सेनाले शान्ति सुरक्षा, विपद् व्यवस्थापन, राष्ट्रिय अखण्डताको रक्षासहित धार्मिक, सांस्कृतिक तथा ऐतिहासिकस्थलको संरचना निर्माणमा पुर्याएको योगदानको प्रशंसा गरेका छन् ।