२३ असार २०८३, मंगलबार

गलकोटमा फस्टाउँदै व्यावसायिक कागतीखेती

गलकोटमा फस्टाउँदै व्यावसायिक कागतीखेती
प्रतिकात्मक तस्वीर

बागलुङको गलकोटमा ६ वर्षअघिसम्म व्यावसायिक कागतीखेती शुरूआत भएको थिएन । गलकोटको बजारमा अहिले पनि भारतीय र तराईका जिल्लाबाट कागती आयात हुने गरेको छ । 

गलकोटमा बाहिरबाट कागती आयात भएको देखेपछि गलकोट नगरपालिका–९ छिसका मित्र खरेललाई कागती खेतीप्रति उत्सुकता जाग्यो । कागती खेती आयात प्रतिस्थापन गर्न सकिने उद्देश्यले ६ वर्षअघि आफ्नै जग्गामा परीक्षणका लागि उनले १०० बोट कागतीका बिरुवा रोपे ।

कागती रोपेपछि खरेलले कागती खेतीको सम्भावना र जग्गा व्यवस्थापनका विषयमा अध्ययन अवलोकन समेत गर्न भ्याए ।

उनले लगाएका १०० बोटमध्ये ८० बोट कागतीले ३ वर्षमै उत्पादन दिन शुरू गर्‍यो । कागती खेतीको परीक्षण सफल भएपछि खरेलको अहिले १० रोपनी जग्गामा ५०० कागतीका बिरुवा छन् । 

‘गलकोटमा भारतबाट कागती आएको देखें, कागती खेती शुरूमै धेरै बिरुवा लगाउन सकिनँ, किनभने परीक्षणकाल थियो, बिस्तारै कागती खेतीको विषयमा बुझ्दै गए, बिरुवा फस्टाउँदै गयो,’ किसान खरेलले भने, ‘अहिले ३ वर्ष भयो, ८० बोटले उत्पादन दिन थालेको छ भने नयाँ बिरुवा थपेर ५०० बोट पुर्‍याएको छु, पहिलो वर्ष असिनाले खासै उत्पादन भएन, गत वर्ष ४०० केजी कागती पहिलो पटक बिक्री गरेको थिए, अहिले राम्रै फल लागिरहेको छ, ५०० बोटले नै उत्पादन दिन ३ वर्ष अझै लाग्ला ।’

खरेलका अनुसार ५०० बोटले कागती उत्पादन गर्न थालेपछि वार्षिक २ देखि ३ लाख रुपैयाँसम्मको कागती बिक्री गर्ने लक्ष्य छ । 

उनले सानो क्षेत्रबाट कागतीखेती थाले पनि अहिले गलकोटका १ दर्जन किसानले व्यावसायिक कागतीखेती थालेका छन् । केही वर्षमा गलकोटले कागती निर्यात गर्ने तयारीका साथ धमाधम व्यावसायीक कागतीखेती थालिएको छ । 

गलकोट–११ रिघाका युवा दानबहादुर श्रीषले गलकोट क्षेत्रकै सबैभन्दा धेरैमात्रामा कागतीखेती गरेका छन् । विक्रम संवत् २०७६ सालमा बाँझो जमिन खरिद गरेर १ हजार ५०० कागतीका बिरुवा लगाएका श्रीषको फर्ममा अहिले कागतीले फूल खेल्न थालेको छ ।  

कागतीको सम्भावना अध्ययनपश्चात् ३६ रोपनी जग्गामा ३ वर्षअघि कागतीखेती थालेका श्रीषले कागतीका बिरुवा फस्टाउँदै गएपछि दंग परेका छन् । उनले आफ्नो कागती फर्ममा आगामी वर्ष व्यावसायिक रूपमा कागती उत्पादन हुने जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्