०६ असार २०८३, शनिबार

देउवा ‘हारेको’ प्रेस युनियनको चुनाव : नेपथ्यका नायक जसले संस्थापन पक्षलाई हराए !

देउवा ‘हारेको’ प्रेस युनियनको चुनाव : नेपथ्यका नायक जसले संस्थापन पक्षलाई हराए !

साउन ६ र ७ गते मकवानपुरको हेटौंडामा भएको नेपाली कांग्रेसनिकट पत्रकारहरूको महाधिवेशनमा संस्थापन पक्षले झट्का व्यहोर्नु पर्‍यो ।

प्रेस युनियनको अध्यक्ष, महासचिवलगायत महत्त्वपूर्ण पदमा संस्थापनइतर समूहका उम्मेदवार विजयी भए ।

महाधिवेशन गरेर नेतृत्व चयन भएको प्रेस युनियन त्यस्तो पहिलो भ्रातृ संगठन भएको छ, जसले संस्थापनलाई झस्का दिएको छ । 

प्रेस युनियन त्यस्तो संगठन हो, जसको नेतृत्व जितेर ९ वर्ष पहिले शेरबहादुर देउवा पक्षले कांग्रेसको तत्कालीन संस्थापन पक्षलाई चुनौती दिएको थियो ।

२०७१ सालमा भएको युनियनको अधिवेशनबाट बद्री सिग्देल अध्यक्ष निर्वाचित भएका थिए । प्रेस युनियन चुनावको सन्देशले यतिबेला संस्थापन पक्षलाई झस्काइदिएको छ भने संस्थापनइतर हौसिएको छ । 

२०७४ सालमै गर्नुपर्ने युनियनको अधिवेशन ५ वर्ष ढिलागरी सम्पन्न भयो । स्थानीय तह र प्रतिनिधि सभा चुनावको कारण देखाउँदै २०७४ सालको महाधिवेशन हुन सकेको थिएन ।

२०७५ सालमा महासमिति बैठकका कारण युनियनको महाधिवेशन हुन सकेन । 

पछि कोरोनाको कारण देखाउँदै महाधिवेशन हुन सकेन । संस्थापन पक्षले युनियनको महाधिवेशन टार्न खोजेको भन्दै संस्थापनइतर समूहले समानान्तर भेलामार्फत जेठ २९ गतेका लागि अधिवेशन बोलाउने निर्णय गर्‍यो । 

संस्थापन पक्षले भदौ २९ गतेको लागि अधिवेशन बोलाउने तयारी गरेको समयमा संस्थापन पक्षले भेलाको मिति तोकेपछि युनियन दुईवटा हुने खतरा देखिएको थियो । 

युनियनका पूर्वअध्यक्षहरूले हस्तक्षेप गरेर साउन ६ र ७ गतेका लागि अधिवेशन गर्ने सहमति भयो ।

जसले संस्थापनइतरलाई जिताए

गत मंसिरमा सम्पन्न कांग्रेसको १४ औं महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित अजयबाबु शिवाकोटी जसले युनियनको महाधिवेशनको नतिजा बदलेको युनियनमा चर्चा छ । शिवाकोटी यसअघि युनियनको महासचिव थिए । 

कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएपछि उनले युनियन छाडेका थिए । युनियनको महासचिव रहेको समयमा ७७ वटै जिल्लाका प्रतिनिधिसँग नजिकबाट काम गरेका शिवाकोटीले व्यक्तिगत सम्बन्धका कारण संस्थापन पक्षका समेत भोट तानेको युनियनका नेताहरू बताउँछन् । 

संस्थापनइतर समूहले सहमतिमै नेतृत्व चयनका लागि प्रस्ताव गरेपनि संस्थापन पक्षले एकतर्फी उम्मेदवारी घोषणा गरेपछि त्यो प्रयास सफल भएन ।

संस्थापन पक्षले युनियनको अधिवेशनको जिम्मा प्रवक्ता समेत रहेका डा. प्रकाशशरण महतलाई दिएको थियो ।

संस्थापन पक्षले अनिता बिन्दुलाई अध्यक्षमा उठाएपछि संस्थापनइतर पक्षले शिव लम्साललाई अगाडि सारेको थियो ।

सक्रिय पत्रकारितामा रहेकी महिला उम्मेदवार भएका कारण अनितालाई उठाउँदा जीत सहज पार्न सकिने संस्थापन पक्षको विश्वास थियो । तर युनियनको झण्डै ९ वर्षे कार्यकालको नेतृत्वसँगको असन्तुष्टिले अनिता पराजित भइन् । 

अध्यक्षमा शिव लम्साल र महासचिवमा दिलिप पौडेल सहितको टीमलाई संस्थापनइतर समूहका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा लगायतको समर्थन थियो । 

संस्थापनइतरले अधिवेशनका लागि सहमहामन्त्री बद्री पाण्डेलाई खटाएको थियो । युनियनको महासचिव भएर काम गरिसकेको अनुभवका आधारमा अधिवेशनको रणनीति बनाउने जिम्मा शिवाकोटीले पाए । 

प्यानल बनाउनेदेखि माहोल बनाउनेसम्मको काममा नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहाल लगायतले भूमिका खेलेका थिए । 

युनियनको नतिजा आउँदै गर्दा दाहालले लेखेका थिए– ‘मिसन पूरा भयो, राज्यविरुद्धको आन्दोलनमा कहिल्यै हार्नुपरेको छैन ।’

युनियनका प्रतिनिधिको वास्तविक संख्या १ हजार २ सय ५० हाराहारी भएपनि संस्थापन पक्षले १७ सय पुर्‍याएको आरोप संस्थापनइतर पक्षले लगाएको थियो । सरकारी सञ्चारमाध्यमको नेतृत्वमा रहेका पदाधिकारीले विभिन्न प्रलोभन देखाएर नतिजा आफ्नो पक्षमा पार्न कोशिश गरेको संस्थापनइतरको आरोप थियो । सम्भवतः तारानाथ दाहालले यही कुरातर्फ संकेत गर्दै टिप्पणी गरेका थिए । 

‘प्रेस युनियनको महासचिव भएर गरेको कामको आधारमा साथीहरूले मलाई अध्यक्षको रूपमा देख्न चाहेका थिए, तर सक्रिय राजनीतिमा आएपछि मैले समर्थन गरेको उम्मेदवारलाई सहयोग भयो,’ शिवाकोटीले लोकान्तरसँग भने । युनियनमा शिव लम्साल प्यानलले ८० प्रतिशत जितेको दाबी गरेको छ । 

सक्रिय पत्रकारिता गर्दागर्दै राजनीतिमा होमिएका शिवाकोटीले कांग्रेसमा खुलातर्फको केन्द्रीय सदस्य जितेका थिए ।

तत्कालीन सभामुख कृष्णबहादुर महराको यौन दुव्र्यहार काण्ड र तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड बार्गेनिङको अडियो सार्वजनिक गरेपछि कांग्रेस वृत्तमा शिवाकोटी चर्चित बनेका थिए । 

कमेन्ट गर्नुहोस्