
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सत्तारुढ ५ दलीय गठबन्धनमा आवद्ध हुने सम्भावना बढेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गठबन्धन बनाउनुपर्ने प्रस्तावसहित लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई गठबन्धनमा आउन पटक–पटक प्रस्ताव गरिसकेका छन् ।
‘प्रधानमन्त्री देउवाले हामीलाई पटक–पटक ‘डेमोक्र्याट गठबन्धन’ बनाएर जान तथा अहिलेकै गठबन्धनमा आउन आग्रह गरिसक्नुभएको छ,’ लोसपाका एक शीर्ष नेताले लोकान्तरसँग भने, ‘त्यसको सम्भावना बढ्दै गएको छ ।’
५ दलीय गठबन्धन नै रहने हो तर गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) अलग हुन सक्ने सम्भावना समेत बढेको उनले खुलाए ।
‘नेकपा एमालेसँग गठबन्धन नगर्न तथा डेमोक्र्याट गठबन्धन बनाउनका लागि उहाँको पटक–पटकको आग्रहपछि लोसपा पनि त्यसमा सकारात्मक हुँदै गएको छ,’ लोसपाका ती नेताले भने, ‘प्रधानमन्त्री देउवाले नागरिकता विधेयक ल्याउनुका साथै मुद्दा फिर्ताको समेत प्रक्रिया अगाडि बढाउनुभएकाले पनि लोसपा कांग्रेस सहितको गठबन्धनमा नै जाने लगभग तय जस्तै छ ।’
गठबन्धन बनाउँदा सिटको बाँडफाँटको फर्मुला के हुने भन्ने कुराको तय हुन बाँकी नै रहेको उनले खुलाए । १६५ वटा सिटमै गठबन्धन हुने हो वा शीर्ष टाउको नेताको संसदीय क्षेत्रमा मात्र गठबन्धन गर्ने भन्ने कुराको पनि तय हुन बाँकी रहेको उनले खुलाए । जुन पार्टीले जुन सिट जितेको छ, त्यसलाई त्यही सिट छाड्ने र नेकपा एमालेले जितेको सिटमा भागबण्डा गर्ने गरी कुरा अघि बढेको उनले खुलाए ।
लोसपा सरकारमा सहभागी नभए पनि सरकारलाई समर्थन दिँदै आएको, उपसभामुखको निर्वाचनमा पनि कांग्रेसका उम्मेदवारलाई नै समर्थन दिएको हुनाले लोसपा र कांग्रेसबीचको सम्बन्ध थप बलियो बन्दै गएको उनले बताए ।
गठबन्धनका लागि नेकपा एमालेले पनि प्रस्ताव गरेको भए पनि लोसपा भने कांग्रेससँग नै गठबन्धन बनाएर जानुपर्ने दबाबमा रहेको उनले बताए । ‘लोसपामा आफैं निर्णय हुँदैन, बाह्य शक्तिले दिने लाइनअनुसार नै लोसपाले निर्णय गर्ने हो,’ लोसपाको अर्को एक नेताले थपे, ‘बाह्य शक्ति पनि एमालेसँग गठबन्धन नगरी कांग्रेससँग गठबन्धन गरेर जानुपर्ने संकेत दिइसकेको छ ।’
उपसभामुखको निर्वाचनमा नेकपा एमालेले लोसपालाई उम्मेदवार उठाउन भनेको थियो तर एमालेको प्रस्तावलाई समेत अस्वीकार गरी लोसपाले आफ्नो उम्मेदवार नउठाएर नेपाली कांग्रेसकै उम्मेदवार पुष्पा भुसाललाई मतदान गरेको थियो ।
‘नेकपा एमालेले मत दिए पनि हामीले उठाएको उम्मेदवारले जित्ने अवस्था थिएन,’ ती नेताले थपे, ‘हामीले आफ्नै उम्मेदवार उठाएको भए पराजय निश्चित नै थियो । त्यसपछि नागरिकता विधेयक लगायतको माग पूरा हुँदैनथ्यो ।’ ती सबै कारणले गर्दा पनि लोसपा कांग्रेससँग नजिकिएको उनले बताए ।
लोसपा गठबन्धनमा जाने भए जनता समाजवादी पार्टीलाई अफ्ठ्यारो स्थिति आउन सक्ने देखिन्छ । मधेशका ती २ दल अहिले एकै समान गठबन्धनमा जान सक्ने स्थिति नरहेकाले गठबन्धनबाट उपेन्द्र यादव बाहिरिन पनि सक्ने अवस्था आउने उनले बताए ।
भर्खर सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा लोसपाले कूल मतको ३% पनि लोकप्रिय मत पाउन सकेको छैन । लोसपाले कूल २ लाख ४४ हजार ८८२ (२.१२ %) लोकप्रिय मत मात्र ल्याएको थियो, जसअनुसार लोसपाले थ्रेसहोल्डका लागि चाहिने ३% मत पनि प्राप्त गर्न सकेको छैन । अर्कोतर्फ जसपाले ५ लाख ७७ हजार ३८० (५%) लोकप्रिय मत ल्याएर थ्रेसहोल्ड कटाउनुका साथै चौथो ठूलो दल बन्न सफल भएको छ । अर्कोतर्फ लोसपा सातौं दलमा खुम्चिन पुगेको छ ।
स्थानीय तहको निर्वाचनपछि जसपा अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरिसकेका छन् । कम्युनिस्ट पार्टीहरूको छुट्टै वाम गठबन्धन बन्न सक्ने अवस्था आए उपेन्द्र यादव एमालेसँग पनि गठबन्धन गर्न सक्ने सम्भावना रहेको जसपाका एक नेताले बताए ।