नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षदेखि विदेशबाट शेयर आवेदन सक्ने व्यवस्था गर्ने भएको छ । बोर्डले वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक शेयर (आईपीओ)मा आरक्षण दिने व्यवस्था चालु आर्थिक वर्ष २०८९/८० मा गर्ने भएको हो । बोर्डले आईपीओमा १० प्रतिशत आरक्षणको लागि यो वर्ष धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ मा संसोधन गर्ने भएको छ ।
बोर्ड अध्यक्ष रमेशकुमर हमालले आर्थिक वर्ष २०८९/८० को धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त व्यवस्था गर्ने बताए ।
बोर्डले धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीको लागि लगानी खुला गर्ने व्यवस्था पनि चालु आव मै गर्ने भएको छ । बोर्डले आगामी एक वर्षमा गर्ने काम तथा कानूनी व्यवस्थासहितको एक वर्षे कार्ययोजना सार्वजनिक गरेको छ ।